पोखरा(कास्की), २६ बैशाख । अविश्वासको प्रस्ताव छल्नका लागि हठात प्रदेश सभा अधिवेशन, सांसदहरुको अपहरण र विवादास्पद छविका व्यक्तिलाई मन्त्री नियुक्ति जस्ता अमर्यादित व्यवहार गर्दै आउनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा अविश्वासको प्रस्तावमा मतदान गर्नकालागि निर्धारित भएको दिनको अघिल्लो दिन राजीनामा दिनुभएको छ ।
नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले बैशाख २ गते दर्ता गरेको अविश्वासको प्रस्तावमा मतदान गर्ने अघिल्लो दिन आइतबार मुख्यमन्त्री गुरुङले राजीनामा दिनुभएको हो । बैशाख २७ गते सोमबार अविश्वासको प्रस्तावमा मतदानको लागि समय तोकिएको थियो ।
मूख्यमन्त्री गुरुड.ले दिनुभएको राजिनामा प्रदेश प्रमुख सीताकुमारी पौडेलले आइतबार नै स्वीकृत गरिसक्नुभएको छ । उहाँले अहिलेसम्म गरेको कामका लागि मूख्यमन्त्रीलाई धन्यवाद दिंदै अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म संविधानको धारा १६९ को उपधारा (३) बमोजित कार्यसञ्चालन गर्न आग्रह पनि गर्नुभएको छ ।

प्रदेश प्रमुख पौडेलले आइतबार नै संविधानको धारा १६८ (२) बमोजिम नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुलाई आह्वान गर्नुभएको छ। उहाँले दलहरुलाई तीन दिनको मय दिनुभएको छ ।
नेपालको संविधानको धारा १६८(२)मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव ल्याउने थाहा पाएपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुड.ले नयाँ बर्षको विदाको दिन प्रदेश मन्त्रिपरिषद्को आकास्मिक बैठक बोलाएर प्रदेश प्रमुख समक्ष प्रदेश सभाको अधिवेशन अन्त्य गर्न सिफारिस गराउनुभएको थियो ।
विपक्षी दलहरुले नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली(पोखरेल)को नेतृत्वमा २ गते नै उहाँमाथि अविश्वासको प्रस्ताव दर्ता गरी त्यसमा छलफल गर्नका लागि प्रदेशप्रमुख समक्ष समावेदन गरेपछि तात्कालीन प्रदेश पमुख अमिक शेरचनले बैशाख १३ गतेदेखि संसदको अधिवेशन बोलाउनुभएको थियो ।
संसदमा अविश्वासको प्रस्ताव पेश भएर छलफल चलिरहेको बेलामा राष्ट्रिय जनमोर्चाका सांसदलाई अस्पतालमा लुकाउने काम गरेकोले संसद अधिवेशन सभामुखले अनिश्चित कालसम्म बन्द गर्नुभएको थियो ।
यस बीचमा मुख्यमन्त्री गुरुड.ले एमालेको समर्थनमा मनाड.बाट निर्वाचित हुनुभएका राजिव गुरुड. उर्फ दीपक मनाडे.लाई पनि मन्त्री बनाउनुभयो । तर त्यतिले पनि उहाँको सरकार जोगिने अवस्था देखिएन । उहाँले अविश्वासको प्रस्तावबाट गलहत्याइनुभन्दा राजिनामा दिएर मर्यादित ढंगले सत्ता परित्याग गर्ने सुरक्षित अवतरणको मार्ग रोज्नुभयो ।


















