काठमाडौँ, ३ जेठ । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ । चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपरे तापनि अप्रत्यक्ष असर देखिने मौसम जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवात अझ विकसित हुने क्रममा रहेको र हाल उत्तर–उत्तरपश्चिमतिर बढ्ने क्रममा छ ।
बुधबार बेलुकादेखि शुक्रबारसम्म कर्णाली, सुदूपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
"Tauk Tae" सामुद्रिक आंधिले नेपालको पश्चिमि भू-भागहरुमा सामान्य बदली गराएको छ। यसको प्रभाव मध्य र पुर्वका भू-भागमा पनि परेको छ। पश्चिमि भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखीन्छ । यो प्रणाली क्रमिक रुपमा पुर्वतिर सर्दै गएको देखीन्छ।@NDRRMA_Nepal pic.twitter.com/biY0O6S7zH
— Nepal Weather Forecast (@DHM_Weather) May 17, 2021
नेपालमा चक्रवातको अप्रत्यक्ष प्रभाव मात्र रहने तथा ठूलो वर्षा र हावाहुरीको सम्भावना नरहेको महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । चक्रवातको प्रभाव शुक्रबारसम्म रहने बताइएको छ ।
मुलुकभर यस याममा प्रिमनसुनको गतिवधिका कारण मेघगर्जन÷चट्याङ ÷हावाहुरी र असिनापानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । महाशाखाले यस अवधिमा उच्च हिमाली भूभागमा पर्वतारोहण नगर्न तथा नगराउनसमेत अनुरोध गर्दै चक्रवातलाई निरन्तर अनुगमन गरिएकाले मौसम अद्यावधिक गरिरहन सबैमा आग्रह गरेको छ ।


















