Prakash Adhikari May 17, 2021

काठमाडौं, ३ जेठ । विगत २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणमा परेर २ सय १४ जनाले जीवन गुमाएका छन भने थप ९ हजार २ सय ४७ जनामा यो घातक भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार सार्वजनिक गरेको विवरण अनुसार पीसीआर विधि र एन्टिजन विधिबाट २२ हजार भन्दा केही बढी जनाको स्वाव परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।

मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कमा सोमवार पनि काठमाडौं उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी भएको देखिन्छ।

अहिले काठमाडौंमा २ हजार ३ सय ४६ जना, ललितपुरमा ४ सय ५४ जना र भक्तपुरमा २ सय ९८ जना सङ्क्रमित थपिएका हुन्।


मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ५ हजार ७ सय ६७ जना सङ्क्रमणमुक्त भएका छन्।

अहिले देशभरि १ लाख १३ हजार ४ सय ८० जनामा सक्रिय सङ्क्रमण छ।

केही सातायताको तथ्याङ्कले परीक्षण गर्न गएका मानिसमा सङ्क्रमण पुष्टि हुने दर उच्च रहेको देखाउँछ।

गत साता बुधवार नेपालमा पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या १ लाख र आइतवार अहिलेसम्म कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या ५ हजार नाघेको सरकारले बताएको थियो।

गत सातादेखि मृतकको सङ्ख्यामा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरेका व्यक्तिको तथ्याङ्क पनि समाविष्ट भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार अहिले १ लाख ०६ हजार ५ सय १० जना सङ्क्रमित आफ्नै वासस्थानमा छन् भने ६ हजार ९ सय ७० जना संस्थागत आइसोलेशनमा छन्।

कोभिडका कारण गम्भीर समस्या भएका बिरामीमध्ये १ हजार २ सय ५९ जना आईसीयूमा र ४ सय जना भेन्टिलेटरमा भएको विवरण मन्त्रालयले सोमवार अपराह्ण प्रकाशित गरेको छ।

कोभिडबाट पीडित बिरामी

 

गण्डकी प्रदेशको अवस्था

कोभिड १९ को दोस्रो लहर सुरु भएपछि गण्डकी प्रदेशमा एकै दिनमा सर्वाधिक २८ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।

गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोनाभाइरसको सङ्क्रमण सबैभन्दा धेरै फैलिएको छ जहाँ प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ तथा प्रदेशसभाका केही सदस्य पनि सङ्क्रमित हुनुभएको छ ।

गत वर्ष यो प्रदेशमा कोरोनाभाइरसको सङ्क्रमण फैलिँदा हिमाल पारिको दुई जिल्ला मनाङ र मुस्ताङ खासै प्रभावित भएका थिएनन्। तर यस पटक भने दुवै जिल्लमा पनि कोभिडको प्रभाव देखिएको छ।

मुस्ताङ र मनाङमा स्वास्थ्य सुविधा नभएका कारण हिजोआज त्यहाँका बिरामीहरूलाई हेलिकप्टरबाट उपचारका लागि पोखरा ल्याउनु र काठमाडौं लैजानुपर्ने अवस्था छ।

चैत २५ गतेबाट जेठ २ गतेसम्म मुस्ताङमा ११४ जना कोरोना भाइरस सङ्क्रमित भएकोमा दुई जनाको ज्यान गएको र ११ जनाको काठमा र डौंपोखरामा उपचार भइरहेको जानकारी स्वास्थ्य कार्यालय मुस्ताङका निमित्त प्रमुख टीकाराम भण्डारीले दिनुभएको छ।

त्यहाँ गत वर्ष ३२ जना मात्र सङ्क्रमित भएका थिए र कसैको पनि ज्यान गएको थिएन।

तनहुँको शुक्लागण्डकी नगरपालिकामा कोभिड-१९ भएर होम आइसोलेशनमा बसेका स्थानीय बासिन्दालाई पौष्टिक आहार प्रदान गरिएको छ

तनहुँको शुक्लागण्डकी नगरपालिकामा कोभिड १९ भएर होम आइसोलेशनमा बसेका स्थानीय बासिन्दालाई पौष्टिक आहार प्रदान गरिएको छ

गण्डकी प्रदेशमा सङ्क्रमणको दर सबैभन्दा उच्च कास्की र त्यसपछि क्रमशः बागलुङ, पर्वत स्याङ्जा र गोरखामा छ।

गण्डकी प्रदेशमा कोभिड(१९ को सङ्क्रमण दर जोखिमपूर्ण र उच्च अवस्थामा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माको आकलन छ।

पछिल्लो पटक १ हजार ६ सय व्यक्तिको कोरोनाभाइरस परीक्षण गर्दा ५० प्रतिशतमा कोरोनाभाइरस पुष्टि हुनुले जोखिम कति छ भन्ने इङ्गित गर्ने उहाँले बताउनुभयो।

कस्ता छन् चुनौती ?

कोभिड १९ को उपचारमा अहिलेको सबैभन्दा ठूलो चुनौती अक्सिजन सिलिन्डरको नियमित आपूर्ति तथा हाईफ्लो अक्सिजनलाई व्यवस्थित गर्नु हो।

गण्डकी प्रदेशमा हाल ८ हजार जनाभन्दा धेरै सङ्क्रमित घरमै एकान्तवासमा भएको र उनीहरूसँग सम्पर्क गर्नु र आवश्यक परेको समयमा उद्धार गरेर हस्पिटलसम्म पुर्‍याउनु अर्को चुनौती भएको डा. शर्माको भनाइ छ।

कोभिड १९ का सङ्क्रमितहरूको बढी चापले पोखरामा रहेका सरकारी र निजी अस्पतालहरूमा पनि क्षमताभन्दा बढी चाप परेको छ।

बागलुङ लगायतका केही जिल्लामा विवाह तथा अन्य सामाजिक कार्यमा भिडभाडका कारण पनि कोरोनाभाइरसको सङ्क्रमण फैलिई केही मानिसको ज्यान गएको हुँदा निषेधाज्ञालाई थप कडाइ र नागरिक स्वयं सचेत भएर स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुपर्ने चिकित्सकहरूको सल्लाह छ।(बीबीसीबाट)

Share Now

Leave a comment.