काठमाडौं, ६ जेठ । पूर्वीमध्य अरब सागरमा विकसित शक्तिशाली समुद्री आँधी ताउतेका कारण आज देशका अधिकांश स्थानमा मध्यम तथा केही स्थानमा भारी बर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सोमवार भारतको गुजरातमा बज्रिएयता निरन्तर कमजोर हुने क्रममा रहेपनि नेपालमा शुक्रवारसम्म मौसमी प्रभावहरू देखिने भन्दै मौसमविद्हरूको अनुमान छ।
हाल सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चट्याङ् सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ र सो प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु होला।@NDRRMA_Nepal pic.twitter.com/JegNfjKN0k
— Nepal Weather Forecast (@DHM_Weather) May 19, 2021
जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् शान्ति कंडेलले भन्नुभयो, “ ताउते यतिखेर तुफानको रूपमा देखिंदैन तर त्यो उत्तरपूर्व सर्ने क्रममा शक्तिशाली न्यूनचापीय प्रणालीको रूपमा छ।”
सोमवार भारत प्रवेश गरेको टाउटेका कारण भारतका पश्चिमी तटीय क्षेत्रहरूमा भारी वर्षा भएका छन्।
नेपालमा प्रभाव
शुक्रवारसम्म देशभर नै मौसम नखुल्ने पूर्वानुमान भए पनि बिहीवारदेखि बागमती प्रदेश र प्रदेश १ का केही ठाउँमा भारी वर्षा र उच्च भूभागमा हिमपातको सम्भावना भएको कँडेलले बताउनुभयो ।
टाउटेका कारण यो साता सगरमाथा आरोहण ‘नगर्न र नगराउन’ मौसम विभाग र पर्यटन विभागले सजग गराइसकेका छन्।
सगरमाथा आधार शिविरमा रहेका नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठ भन्नुहुन्ह्छ, “यतिखेर २०० भन्दा धेरै आरोहीहरू क्याम्प टुमा मौसम सुधार हुने आशामा सुरक्षित बसिरहेका छन्। आधारशिविरमा अवस्था सामान्य छ।”
“चुचुरो जानका लागि पहिले डोरीहरू टाँगेर बाटो बनाइएको हुँदा त्यसबारे आरोहीहरू परिचित छन्। उच्च भागमा हिमपात भएको भए एक(दुई फिटसम्म हिउँ परेको भए समेत त्यसलाई खोतलेर निकाल्न सकिन्छ।”
चुचुरो पुग्नका लागि जारी गरिएको अहिलेसम्मकै धेरै ४ सय ८ अनुमतिपत्रमध्ये आधाभन्दा धेरै आरोहीहरूले अझै चढ्न बाँकी छ।
आरोहणका लागि अनुकूल ठानिएको एउटा ‘समीट विन्डो’ १९ र २० तारिखमा आरोहण हुन नसक्दा त्यसपछिका मितिमा आरोहीहरूको भिडभाड हुनसक्ने अधिकारीहरूको आकलन छ।
सगरमाथा आरोही श्रेष्ठ थप्नुहुन्छ, “आरोहण हुने समय भनेको मनसुनी प्रभाव देखिनुअगाडि हो। तर अहिलेसम्म मे महिनाको अन्त्यसम्म शुक्रवारपछि पनि छ दिनजति अनुकूल अवस्था देखिन्छ।”

भारतको अहमदाबाद टाउटेका कारण भारी बर्षा भएको छ
अस्पतालमा सकस
काठमाडौंमा समेत छिटफुट वर्षा हुन थालेपछि बुधवार मध्याह्न काठमाडौको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा बाहिरै अक्सिजन लिएर उपचार गराइरहेका सात जना बिरामीलाई पिँडीमा सारिएको अस्पतालले जनाएको छ।
अस्पतालका जनस्वास्थ्य निरिक्षक लिलानाथ भण्डारी भन्नुहुन्छ, “कोभिड केन्द्रित अस्पताल भएकाले हामीले अलपत्र छाड्न समेत मिल्दैन।ू
ूतर धेरैजसो पीसीआरसमेत नगरेका बिरामी अन्तिम अवस्थामा आउँदा भित्र शैय्या खाली भएहाले समेत रिपोर्ट नआउँदासम्म भित्र लैजान मिल्दैन।”
टेकु अस्पतालका आकस्मिक सेवा इन्चार्ज भण्डारी भन्छन्, “त्यसमाथि पानीमा भिज्नु त त्यसै पनि कोभिडका बिरामीका लागि अवस्था थप जटिल हुनु हो। वर्षाका पूर्वानुमानले हामीलाई चिन्तित बनाएको छ।”
सजगता आवश्यक
जल तथा मौसम विज्ञान विभागले शुक्रवारसम्म देशभर नै केही(केही ठाउँमा भारी वर्षा हुने देखिएकाले त्यसले नदीहरूमा कतै आकस्मिक बहाव बढ्न सक्ने भन्दै सजग गराएको छ।
मौसमविद् कंडेल भन्नुहुन्छ, “यही नै बेला चट्याङ्ग समेत पर्ने अवस्था हुने हुँदा शुक्रवारसम्म सबैखाले सावधानी अपनाउनु पर्छ।”
सन् १९९८ यताकै सबभन्दा शक्तिशाली समुद्री आँधी मानिएको टाउटेका कारण अहिलेसम्म भारतमा ९० जना हराइरहेका र १९ जनाको मृत्यु भएको बताइएको छ।
आँधीको प्रभाव परेका भारतीय राज्यहरूमा झण्डै दुई लाखलाई अन्यत्र सारिएको छ।(बीबीसीबाट)


















