विण्डहोक(नामिबिया), १ फागुन । आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ मा आयोजक नामिबिया अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । नामिबियाले मंगलबार भएको खेलमा केन्यालाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा कब्जा जमाएको हो । नेपाल भने तेस्रो स्थानमा झरेको छ ।
शीर्ष स्थानमा रहेको क्यानडा, दोस्रो स्थानको नामिबिया र तेस्रो स्थानको नेपालको समान ६–६ अंक छ ।
नेट रनरेटमा भने नेपाल दुई टिमभन्दा पछि छ । तीनै वटै टिमले समान ३–३ खेलमा जित हात पार्दा १–१ खेलमा हार बेहोरेका थिए।
२ खेलमा जित र २ खेलमा हारेको युएईको ४ अंक छ ।
अब समूह चरणको अन्तिम दिन बुधबार नेपाल र क्यानडा, युएई र नामिबिया तथा ओमान र केन्याबीच प्रतिस्पर्धा हुनेछ । पहिलो दुई खेलको नजिताले शीर्ष २ टिमको टुंगो लाग्नेछ ।
शीर्ष २ टिम एक दिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन् ।
नेपाल शीर्ष २ मा पर्न बुधबार क्यानडालाई पराजित गर्नै पर्ने हुन्छ । हार बेहोरेको खन्डमा नेपालको शीर्ष २ मा पर्ने सम्भावना सकिनेछ । नामिबियाले जिते नेपाललाई अंकमा पछि पार्नेछ । युएई विजयी भए रनरेटमा नेपाललाई पछि पार्नेछ ।
यसर्थ नेपालका लागि क्यानडा विरुद्धको खेल ‘गर या मर’ सरह हुनेछ।
नेपाल र क्यानडाबीच खेल बुधबार नामिबयाको वन्डरर्स मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ ।