काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७८।२०७९का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट आज आगामी आर्थिक बर्षको लागि राजश्वको आय र व्ययको अनुमानसहितको सो आकारको बजेट सार्वजनिक गर्नुभएको हो ।
प्रतिनिधिसभा विघटन भएको र संविधानमा जेठ १५ मा नै आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था भए अनुसार आजै राष्ट्रपतिबाट बजेट अध्यादेश जारी गरी अर्थमन्त्रीले सार्वजनिक गर्नुभएको हो ।
अर्थमन्त्री पौडेलले सार्वजनि गर्नुभएको आगामी आर्थिक बर्षको बजेट २०७७ जेठ १५ मा तात्कालीन अर्थमन्त्री युवराज खतिवडाले सार्वजनिक गर्नुभएको चालु आर्थिक बर्षको बजेट भन्दा बर्षको भन्दा १ खर्ब ७३ अर्बले बढी हो । गत वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ थियो । आगामी आर्थिक बर्षको बजेटमा कार्तिक र मंसिर महिनामा हुने प्रतिनिधिसभाको निर्वाचनको खर्च पनि थप भएको छ ।
आज सार्वजनिक गरिएको बजेटमा संघीय सरकारलले खर्च गर्ने बजेटको आकार चालुमा ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रहेको छ । त्यस्तै वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड तथा प्रदेश र स्थानीयतहलाई वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ बिनियोजन गरिएको छ ।
यस्तै,खर्चको स्रोत व्यवस्थापनतर्फ राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड, वैदेशिक अनुदानबाट ६३ अर्ब ३७ करोड, न्यून हुन आउने रकम ५ खर्ब ५९ अर्ब ३० करोड ,वैदेशिक ऋण ३ खर्ब ९ अर्ब २९ करोड र आन्तरिक ऋण २ खर्ब ५० अर्बबाट जुुटाउने अनुमान गरिएको छ ।
पूर्णपाठको लागि तल क्लिक गर्नुहोस् :
आर्थिक बर्ष २०७८।७९ को बजेट वक्तव्य


















