Prakash Adhikari February 18, 2018

हात्तीनेट,(महोत्तरी), ५ फागुन। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालमा वामपन्थीहरुबीचको गठबन्धन र एकता टुटाउन बिभिन्न तत्वहरुले षडयन्त्र गरिरहेको बताएका छन् ।

महोत्तरीको हात्तीनेटमा आयोजित बृहत जनसभा तथा प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

“नेपालमा ७० वर्षदेखि कहिल्यै राजनीतिक स्थिरता भएन, कुनै पनि सरकार पाँच वर्ष टिकेन । त्यसैले सुशासन, समृद्धि र समाजवादी नेपालको लागि कम्युनिष्ट शक्तिबीच एकता र वाम गठबन्धन जरुरी छ भनेर मैले नै प्रस्ताव अगाडि बढाएँ ।” अध्यक्ष प्रचण्डले थपे, “जनताको चाहना पनि यही भएकोले अहिले झण्डै दुई तिहाई बहुमत वामपन्थीहरुको आएको छ । तर वाम एकता नहोस् र नेपाली जनताले विकास निर्माण र समृद्धिको यात्रा प्राप्त गर्न नसकून भनेर देशी विदेशी प्रतिक्रियावादी लागि परेका छन् ।”

प्रदेश र संघको निर्वाचनमा वाम गठबन्धनको झण्डै दुई तिहाई बहुमत आएपछि एमाले र माओवादी केन्द्रलाई प्रलोभन र धम्की दिएर एकता भाँडने षडयन्त्र भएको अध्यक्ष प्रचण्डले दावी गरे। उनले भने, “निर्वाचनमा दुई तिहाई आएपछि कहिले माओवादीलाई, कहिले एमालेलाई प्रलोभन र कहिले धम्की दिएर गठबन्धन टुटाउने षडयन्त्र भइरहेको छ ।”

अध्यक्ष प्रचण्डले इतिहासको निर्माण गर्न एक दुई जना नेताको मात्रै भर पर्न नसकिने भएकोले सिँगो पार्टीका नेता र कार्यकर्ताहरु सबैलाई चनाखो बस्न समेत आग्रह गरे । “सबैमा अपील गर्न चाहन्छु, तपाईहरु सतर्क रहनुहोला, सावधान रहनुहोला, ताकि षडयन्त्रकारीको षडयन्त्रमा कोही नफसौं ” अध्यक्ष प्रचण्डले भने, “हामीले जुन ऐतिहासिक मिसन लिएका छौं, शहीद र अग्रजले देखेका सपना पुरा गर्ने जुन महान अभियानको शुरुआत भएको छ, त्यसलाई बीच बाटोमा नै तुहाउने षडयन्त्र भइरहेको छ । प्रक्रिया अवरुद्ध पार्ने षडयन्त्र भएको छ । तपाईहरु सतर्क बस्नुहोला ।”
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएर मधेशसँग संवाद गरेर सबैको सहभागितामा मुुलुकलाई निर्वाचनमा लग्ने प्रयास गरेको पनि स्मरण गरे ।“पहाडमा ७३ प्रतिशत भोट खस्दा मधेसमा ७७ प्रतिशत भोट खस्यो, यसमा मलाई गर्व छ ” उनले भने ।

कार्यक्रममा राजपाका केन्द्रीय सदस्यसहित थुप्रै कार्यकर्ता ६ सय बढी माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

Share Now

Leave a comment.