चौतारा (सिन्धुपाल्चोक), २७ आषाढ । अविरल वर्षासँंगै आएको बाढीले दुई झोलुङ्गे पुल बगाउँदा सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बाका चार गाउँ नाकाबन्दीमा परेका छन् ।
अति विकटमा पर्ने गुम्बाको नेसमखोलाको झोलुङ्गे पुल बगाउँदा तेम्बाथाङ, दीपु, निमाडोल्मा र साघुलिङसहित चार गाउँका दुई सयभन्दा बढी बासिन्दा आवतजावत गर्नबाट वञ्चित भएका हुन् ।
तेम्बाथाङ र गुम्बागाउँ जोड्ने नेसमखोलाको झोलुङ्गेपुल यही असार १ गतेको बाढीले बगाएको थियो ।
त्यस्तै वडा नम्बर २ गोल्चे र गुम्बा जोड्ने दीपुस्थित अर्को झोलुङ्गेपुल दुई दिनअघिको बाढीले बगाएको थियो । जुगल हिमशृङ्खलाको फेदीमा पर्ने उक्त बस्ती दुर्गम हुनाका साथै दैनिक वर्षा भइरहने हुँदा साउन लागेपछि मात्र अर्को झोलुङ्गेपुल निर्माण गर्नेतर्फ अघि बढ्ने गाउँपालिकाका उपाध्यक्ष सिर्जना तामाङले बताउनुभयो ।


















