काठमाडौं, २७ आषाढ । विभाजनको डिलमा उभिएको सत्तारुढ नेकपा एमालेभित्र सर्वोच्च अदालतले प्रतिनिधिसभाको विघटनसम्बन्धी रिट निवेदनको फैसला गर्ने अघिल्लो रातमा आपसी सहमति कायम भएको छ ।
झण्डै १५ महिनादेखि निकै शत्रुतापूर्व अवस्थाबाट गुज्रिएका हालको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच आइतबार राति १०बुँदे सहमति भएको हो ।
यो सहमतिलाई सोमबारको लागि बोलाइएको स्थायी कमिटीको बैठकले अनुमोदन गर्ने बताइएको छ। पार्टी अध्यक्ष ओलीले आज दिउँसोसम्म सहमति हुने विश्वासमा ४ बजे स्थायी कमिटको बैठक बोलाउनुभएको थियो तर सहमतिका लागि गृहकार्य गरिरहेको टोलीले सहमति जुटाउन समय लगाएकोले आज निर्धारित स्थायी कमिटीको बैठक भोलि सोमबारलाई सारिएको छ ।
सहमतिमा के छ ?
पार्टी एकीकरण वा एकताको हौवा फिजाइए पनि नेकपा एमालेका ओली र माधव पक्ष फुटेर अर्कोे पार्टी गठन गरेको वा चाइटिएर अर्को पार्टीमा विलय भएको अवस्था रहेकोले यो आन्तरिक समझदारीको विषय मात्र थियो ।
कार्यदलमा सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा र सरकारबारे पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णय अनुसार अगाडि बढ्ने सहमति भएको छ ।
१० बुँदामा विवाद अन्त्यकाे सहमति
१० सदस्यीय कार्यदललाई
विशेष बधाई – pic.twitter.com/qPbxYwRnpB— Surya Thapa (@ThapajiSurya) July 11, 2021
कार्यदलले नेकपा माओवादी केन्द्रसंग एकता हुनुपूर्वको अवस्था अर्थात २०७५ जेठ २ मा फर्किने सहमति गरेको छ । पार्टी एकता गर्दा थपिएका केन्द्रीय सदस्यहरु र माओवादी केन्द्र छाडेर आएका नेताहरुलाई पनि जिम्मेवारी दिइने सहमति भएको छ ।
कार्यदलमा सबै तहका कमिटी, निकाय र जनसंगठन, नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्था बमोजिम नेकपा गठन हुनुपूर्व २०७५ साल जेठ २ गतेसम्मको संगठनात्मक अवस्थाबाट क्रियाशील हुने सहमति गरेको छ ।
कार्यदलले माओवादी पाटीलाई अलग गराउने सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको फैसलापछि नेकपा एमालमा रहन इच्छुक हुनुभएका तात्कालीन एकीकृत नेकपाका नेताहरुलाई पनि त्यसअवस्थामा रहे अनुरुपकै जिम्मेवारी दिने सहमति जनाएको छ ।
कार्यदलले दुईपक्षबीचको सन्तुलन मिलाउन केन्द्रीय कमिटीको आकार बढाउने सहमति पनि जुटाएको छ । हाल कायम रहेको केन्द्रीय कमिटीको १० प्रतिशतमा नबढ्ने गरी मनोनित गर्ने सहमति छ ।
कार्यदलले २३ फागुन यता दुबै पक्षले गरेका पूर्वाग्रही, ईष्या र आवेगको सबै निर्णयहरु खारेज गर्ने सहमति गरेको छ ।
दुवै पक्षबीच पार्टी तथा जनसंगठनहरु पूर्ववत अवस्थामा क्रियाशील हुने क्रममा उत्पन्न हुनसक्ने समस्याको निराकरण गर्न र सदस्यता नवीकरण, महाधिवेशन तथा विभिन्न तहका अधिवेशनका सम्बन्धमा सुझाव दिन कार्यदल गठन गर्ने सहमति पनि भएको छ ।
सहमति अनुमोदन गर्न यथाशीघ्र विधान महधिवेशन आयोजना गर्ने पनि समझदारी छ । कार्यदलले पार्टी, संसदीय दल र जनसंगठनहरुलाई विधि र पद्धतिसम्मत किसिमले उच्च समझदारीका साथ सञ्चालन गर्दै एकता, क्रियाशीलता र मर्यादाको अभिवृद्धि गर्ने बताएको छ ।
नेकपा एमाले पार्टी केन्द्रीय कमिटीको बैठक भने असार २९ गते बिहान ११ बजेका लागि डाकेको छ।
आज सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बिहान ९ बजेदेखि रातिसम्म कार्यदल बैठक बसेको थियो ।


















