काठमाडौं, ३ साउन । आज संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बजेट अधिवेशनको पहिलो बैठक बस्दैछ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बनेको नयाँ सरकारले शिफारिस गरे अनुरुप राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ४ बजे संघीय संसदका दुवै सदनको पहिलो बैठक आह्वान गर्नुभएको हो ।
बैठक बानेश्वरस्थित संघीय संसद् भवनमा आज अपराह्न ४ बजे बस्नेछ।
सर्वोच्च अदातलले प्रतिनिधिसभा पुनस्थापनाका सम्बन्धमा आषाढ २८ गते गरेको ऐतिहासिक फैसलामा ७ दिनभित्र संसद अधिवेशन बोलाएर बैठक सञ्चालन गर्न निर्देशनात्मक आदेश दिएको थियो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत जेठ ७ गते मध्यरात(बिहान १ ः४९ मिनेट जाँदा) प्रतिनिधिसभा विघटन गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारीले जेठ ६ गते संविधानको धारा ७६(५) अन्तरगतको सरकार गर्न संघीय संसदको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई आह्वान गर्नुभएको तर सो आह्वान अनुरुप १ सय ४९ जना सांसदको हस्ताक्षरसहित सरकार गठनको दावी गर्नुभएका नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले पेश गर्नुभएको निवेदनलाई दावी नपुगेको भनेर अस्वीकार गर्नुभएको थियो ।
नेपाली कांग्रेसका संसदीय दलका नेता देउवाको दावीलाई निश्क्रिय बनाउन नयाँ सरकारको लागि मार्ग प्रशस्त गरेको दावी गर्ने र सत्ता हस्तान्तरण गर्न ब्यग्र छु भन्ने तात्कालीन प्रधानमन्त्री ओलीले समेत आफ्नो दलको तर्फबाट आफ्नो र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द महतोको पत्र लिएर आफूलाई १ सय ५३ जना सांसदको समर्थन रहेको भन्दै दावी गरेर विवाद सिर्जना गर्नुभएको थियो । ओलीको दावी पछि राष्ट्रपतिले दुवै दावीकर्ताको दावी नपुग्ने निर्णय गर्नुभएको थियो ।
संविधानको अक्षर र भावना अनुरुप प्रतिनिधिसभामा ठूलो दलको नेताको हैसियले तात्कालीन प्रधानमन्त्री ओलीले गठन गर्नुभएको सरकारले विश्वासको मत नदिइकन धारा ७६(५) अन्तरगत बनेको सरकारले मात्र प्रयोग गर्न पाउने प्रतिनिधिसभा विघटनको अधिकार गरेको भन्दै सो सिफारीस बदर गरी प्रतिनिधिसभा पुनस्थापना गर्न र राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६(५)को सरकार गठन गर्न आह्वान गरे अनुसार आफूले पेश गरेको बैधानिक दावी अनुरुप प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी गर्न माग गर्दै सर्वाेच्च अदालतमा आफूलाई समर्थन गर्ने १ सय ४६ जनाको हस्ताक्षरसहित निवेदन गर्नुभएको थियो ।
नेपाली कांग्रेसका संसदीय दलका नेता रहनुभएका कांग्रेस सभापति देउवाको सोही निवेदन उपर सर्वोच्च अदालतको संसदीय इजलाशमा भएको सुनुवाई पछि अदालतले निवेदकको माग अनुरुप प्रतिनिधिसभा पुनस्थापना गर्दै राष्ट्रपतिको आह्वान अनुरुप १ सय ४९जना सांसदको हस्ताक्षरसहित सरकार गठनको दावी पेश गर्नुभएका नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाको दावी पुग्ने देखिएकोले उहाँलाई २८ घण्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न परामादेश दिएको थियो ।
सर्वोच्च अदालतले पुनस्थापित प्रतिनिधिसभाको बैठक ७ दिनभित्र बस्ने ब्यवस्था गर्न पनि निर्देशनात्मक आदेश दिएको थियो ।
आजको बैठकमा सरकारले १६ वटा विधेयक पेस गर्ने तयारी गरेको छ।
हिजो शनिबार बसेको मन्त्रिपरिषद् बैठकले ओली नेतृत्वको सरकारले ल्याएका विधेयक प्रतिनिधि सभामा पेस गर्दै प्रक्रियामा लैजाने निर्णय गरेको थियो।
यसैबीच आजै राष्ट्रिय सभाको बैठक पनि बस्दै छ। प्रतिनिधि सभा पुनःस्थापना हुनासाथ ओली सरकारले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेको थियो।
संसद सचिवालयले आजदेखि संघीय संसदका दुवै सदनको बैठक सुचार गर्न सबै तयारी पूरा भइसकेकोजनाएको छ।
यसैका लागि सभामुख, प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सदस्य, कर्मचारी, मर्यादापालकलगायत सबैको कोरोना परीक्षणसमेत भइसकेको छ।
चालु अधिवेशनमै प्रधानमन्त्रीमा शेरबहादुर देउवाले विश्वासको मत लिनु हुनेछ । तर मन्त्रिपरिषद्ले पूर्णता नपाएकोले उहाँले विश्वासको मत कहिले लिनुहुन्छ भन्ने टुंगो छैन् ।


















