Prakash Adhikari July 26, 2021

काठमाडौं, ११ साउन । निर्वाचन आयोगले जनता समाजवादी पार्टीभित्रको आधिकारिक पक्षको निक्र्यौल गर्न सोमबार गरेको हेड काउण्ट(टाउको गिन्ती)मा अध्यक्ष उपेन्द्र यादवको पक्षमा दुई तिहाई केन्द्रीय सदस्यको समर्थन देखिएको छ ।

सोमबार निर्वाचन आयोगमा गरिएको हस्ताक्षर सनाखतमा अध्यक्ष उपेन्द्र यादवको पक्षमा ३४ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूले हस्ताक्षर सनाखत गर्नुभएको हो।

५१ सदस्यीय कार्यकारिणी सदस्य रहेको जपसाका ३४ जना सांसदले आफूहरूको पक्षमा हस्ताक्षर गरिसकेको अध्यक्ष यादवले जानकारी दिनुभएको छ।

यादवका अनुसार सनाखतका लागि सांसद रेशम चौधरीलाई पनि आयोगमा ल्याउने तयारी गरिएको छ।

थारु आन्दोलनका समयमा कैलालीमा नेपाल प्रहरीका डीआईजीको हत्या लगायतका घट्नामा मुछिनुभएका चौधरी अदालतबाट दोषी ठहरिएपछि डिल्लीबजारस्थित कारागारमा रहनु भएको छ । उहाँलाई सनाखत गराउन आयोगमा ल्याउने तयारी भइरहेको छ। चौधरी आएसँगै आफ्नो पक्षमा ३५ जना कार्यकारिणी सदस्य पुग्ने दावी अध्यक्ष यादवले गर्नुभएको छ।

यसअघि महन्थ ठाकुरसँग नजिक रहेका मनिष सुमन, नवलकिशोर साह, राजकिशोर यादवलगायत नेताहरू यादव पक्षमा आइसक्नुभएको छ।

यसैबीच अध्यक्ष यादवले आफूहरूले महन्थ ठाकुर र राजेन्द्र महतोहरूलाई नलखेटेको भन्दै गल्ती स्वीकार गरेर आए पार्टीमा ठाउँ दिने बताउनुभएको छ।

‘हामीले महन्थजी र राजेन्द्रजीहरूलाई कहिले लखेटेका छौं ररु उहाँहरू जसरी प्रतिगमनको मतियार बन्नुभो। त्यो हाम्रो पार्टीको सिद्धान्तविपरीत हो। गल्ती मान्दै माफी माग्नुहुन्छ भने पार्टीले विचार गर्नेछ,’ निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीसंग अध्यक्ष यादवले भन्नुभयो।

दुई तिहाईभन्दाबढी सदस्यको समर्थन पाएसंगै निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा रहेको समूहले पाउने निश्चित जस्तै छ।

 

Share Now

Leave a comment.