Prakash Adhikari August 4, 2021

 

काबुल(अफगानिस्तान), २० साउन (बीबीसी) । अफगानिस्तानका रक्षामन्त्रीको निवासमा सशस्त्र विद्रोहीहरूले आक्रमण गर्दा कम्तीमा चार जनाको ज्यान गएको छ।

आक्रमणका बेला रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदी घरबाहिर भएकाले बच्न सफल हुनुभएको छ।

बन्दुकधारीहरूले मङ्गलवार काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्रीको निवासमा कार बम हमला गरेका थिए।

साथसाथै उनीहरूले गोली पनि चलाएका थिए।

रक्षामन्त्रीको परिवारका सदस्यहरूलाई सुरक्षित रूपमा उद्धार गरियो।

उक्त हमलामा संलग्न आक्रमणकारीहरू पनि सुरक्षाकर्मीद्वारा मारिएका छन्।

हिंसा अन्त्यको आह्वान

मुख्य अफगान सहरहरूमा तालिबान विद्रोही र सरकारी फौजबीच लडाइँ जारी रहेको तथा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌ले तत्कालै हिंसा अन्त्य गर्न आह्वान गरेका बेला उक्त आक्रमण भएको हो।

सुरक्षा अधिकारीहरूले एएफपी समाचार संस्थालाई घटनामा चारजना मारिएको बताएका छन्।

इटलियन आकस्मिक चिकित्सा परोपकारी संस्थाले चाहिँ काबुलस्थित आफ्नो स्वास्थ्य सेवा निकायमा उक्त घटनामा मारिएका चारजनाको शवका साथ ११ जना घाइते पनि ल्याइएको बताएको छ।

“आत्तिनु पर्ने कुरा छैन, सबै ठिकठाक छ”, रक्षामन्त्री मोहम्मदीले घटनापछि ट्वीट गर्नुभएको छ।

अमेरिकी विदेश मन्त्रालयले उक्त हमला तालिबानले गराएको देखिने सबै लक्षणहरू भएको बताएको छ।

अफगानिस्तान

आक्रमणको घण्टौँपछि काबुल निवासीहरू सडकमा निस्किएर र घरका छतहरूमा उभिएर तालिबानको आक्रमणलाई हाँक दिइरहेको सामाजिक सञ्जालमा साझा गरिएको भिडिओमा देखिएको छ।

हालैका दिनमा कडा लडाइँ भइरहेको हेरत सहरमा पनि सोमवार त्यस्तैखाले दृश्य देखिएको थियो।

अफगानिस्तानको दक्षिणी हेल्मन्ड प्रान्तका सहरमा अफगान फौज र तालिबानबीच भीषण लडाइँ जारी छ।

 

लश्कर गाहमा मृत्यु

संयुक्त राष्ट्रसङ्घले मङ्गलवार लश्कर गाह सहरमा अघिल्लो दिन मात्र कम्तीमा ४० सर्वसाधारण मारिएको जनाएको छ।

“यहाँ सडकमा शवहरू रहेका छन्। हामीलाई थाहा छैन ती सर्वसाधारणका हुन् कि तालिबानका हुन्”, उक्त सहरका एकजना बासिन्दाले बीबीसी अफगान सेवालाई ह्वाट्सएपमार्फत भने।

सुरक्षाका कारण नाम गोप्य राखिएका ती व्यक्तिका अनुसार उक्त क्षेत्रबाट कैयौँ मानिसहरू सुरक्षित क्षेत्रमा भागेका छन्।

बीस वर्षपछि अमेरिकी सैनिकहरू त्यहाँबाट हटेपछि अहिले अफगानिस्तानमा तालिबानले तीव्र रूपमा कैयौँ भू-भागहरू कब्जा गरिरहेको छ।

हेल्मन्ड प्रान्त अमेरिकी र ब्रिटिश सैन्य अभियानको केन्द्रविन्दु थियो।

उक्त क्षेत्रलाई तालिबानले नियन्त्रणमा लिएमा त्यो अफगान सरकारका लागि ठूलो झड्का हुनेछ।

यदि लस्कर गाहलाई तालिबानले नियन्त्रणमा लिएमा त्यो सन् २०१६ पछि तालिबानले नियन्त्रणमा लिएको पहिलो प्रान्तीय राजनधानी हुनेछ।

तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहारमा पनि कब्जा गर्ने कोसिस गरिरहको छ।

त्यहाँको विमानस्थलनमा आइतवार रकेट हमला भएको थियो।

कान्दाहारमा कब्जा गर्नु भनेको तालिबानका लागि साङ्केतिक जित हुनेछ।

त्यसले उसलाई दक्षिणी क्षेत्रमा नियन्त्रणका लागि बल दिनेछ।

 

Share Now

Leave a comment.