काठमाडौं, २७ साउन । नेपालमा कोरोना भाइरसका संक्रमण बढ्दै जान थालेको देखिएको छ । विगत २४ घण्टामा नेपालमा थप ३ हजार ४ सय ८१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ३० जनाको यसै घातक भाइरसको संक्रमणका कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या ७ लाख ९५ हजार नाघेको छ भने मृतकको सङ्ख्या १० हजार १ सय ८१ पुगेको छ।
बुधवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार विगत २४ घण्टामा १६ हजार ६ सय ५६ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
तीमध्ये ५ हजार ७ सय ४९ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।
अहिले कुल परीक्षणको २०.८९ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।
मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १ हजार ८ सय ८५ जना सङ्क्रमणमुक्त भएका छन्।
नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ।
सङ्क्रमितमध्ये ३४ हजार ८ सय १३ जना घरमा तथा ३ हजार २ सय २० जना संस्थागत आइसोलेशनमा छन्।
अहिले ७ सय ९६ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १ सय ८४ जना भेन्टिलेटरमा छन्।
कतिले लगाए खोप ?
अहिलेसम्म पूर्ण मात्रामा खोप लगाउनेहरूको सङ्ख्या २८ लाख नाघेको मन्त्रालयले जनाएको छ।
अक्सफर्ड आस्ट्राजेनेकाले बनाएको खोप, चीनमा निर्मित भेरो सेल र जोनसन एन्ड जोनसनको ज्यान्सेन खोप नेपाल आएका छन्।
जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने आस्ट्राजेनेका तथा भेरो सेलको दुई मात्रा लगाउनुपर्छ।(बीबीसीको सहयोगमा)


















