काबुल(अफगानिस्तान), ३० साउन (बीबीसी)। तालिबान लडाकुहरू राजधानी काबुलतर्फ अघि बढिरहँदा अमेरिकी अधिकारीहरूले अफगानिस्तानमा खटिने एउटा उद्धार फौजले दैनिक हजारौँ मानिसहरूलाई काबुलबाट उद्धार गर्न सक्ने बताएका छन्।
काबुलबाट ८० किलोमिटर दक्षिणमा रहेको पुल(ए(आलम सहित आधा प्रान्तीय राजधानी तालिबानहरूले कब्जा गरिसकेका छन्।
थप ३ हजार फौज अफगानिस्तानमा खटाउने बताएको पेन्टागनले यो सप्ताहान्त अघि नै फौजहरू पुगिसक्ने जनाएको छ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले गैर सैनिकहरूका लागि विस्मयकारी परिस्थिति निर्माण गर्ने गरी अवस्था नियन्त्रण बाहिर गइरहेको बताउनुभएको छ।
हालसम्म अढाई लाख भन्दा बढी मानिसहरू आफ्नो घर छाड्न बाध्य भएका छन्।
भयको वातावरण
अमेरिकी र अन्य विदेशी सेनाहरूले २० वर्षको सैनिक कारबाहीपछि आफ्ना फौजहरू फिर्ता गरेपछि तालिबानहरूले आफ्नो नियन्त्रण विस्तार गरेका हुन्।
पछिल्लो लडाइँले सन् २००१ मा तालिबानहरूलाई सत्ताबाट बाहिर पुर्याइएपछि मानवअधिकारको क्षेत्रमा प्राप्त भएका उपलब्धि गुम्ने भय व्यक्त भइरहेका छन्।
सन् १९९० को दशकमा तालिबानको शासनकालमा महिलाहरूलाई पूरै शरीर ढाकिने गरी बुर्का लगाउन बाध्य परेका थिए भने १० वर्ष भन्दा बढी उमेरका बालिकालाई शिक्षा लिन बन्देज लगाएका थिए।

तालिबान
उनीहरूले सार्वजनिक स्थलमा मृत्युदण्ड दिने क्रूर दण्ड दिने प्रणाली कायम राखेका थिए।
शुक्रवार तालिबानहरूले देशको दोस्रो ठूलो शहर कान्दहार र त्यहाँबाट नजिकैको लास्कर गाह र पश्चिमको हेरत प्रान्त नियन्त्रणमा लिएका थिए।
उनीहरूले अहिले अफगानिस्तानको प्रान्तीय राजधानीमध्ये करिब एक तिहाइमा नियन्त्रण कायम गरेका छन्।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जोन किर्बीले तालिबानहरूको नियन्त्रण बढ्नु गहिरो चिन्ताको विषय रहेको बताउनुभएको छ।
तर उक्त समूहबाट काबुललाई खतरा रहेको भन्ने प्रश्नलाई उहाँले त्यति महत्त्व दिनुभएको छैन।
अमेरिकी उद्धार फौज पुग्दै
अमेरिकी कूटनीतिक कर्मचारीलाई उद्धार गर्न खटिएका ३ हजार फौजमध्ये अधिकांश सप्ताहान्तसम्म आइपुग्ने छन्।
अमेरिकाले दैनिक हजारौँ व्यक्तिहरूलाई काबुलबाट हवाई उद्धार गर्ने लक्ष्य राखेको छ।
पछिल्लो अमेरिकी गुप्तचरी विश्लेषणले तालिबानहरूले राजधानी काबुलतर्फ अघि बढ्ने प्रयास ३० दिनभित्र गर्ने उल्लेख गरेको छ।

अफगानिस्तान
काबुलस्थित अमेरिकी राजदूतावासले आफ्ना कर्मचारीलाई संवेदनशील सामग्री, दस्ताबेज र मिथ्या प्रचारमा प्रयोग गर्न सकिने झण्डा सहितका सामाग्री नष्ट गर्न आगोको भट्टा र अरू उपकरण उपलब्ध रहेको जनाएको छ।
ब्रिटेनका नागरिक र पूर्व अफगान कर्मचारीहरूको उद्धारका लागि यूकेले ६०० सैनिक पठाउँदैछ। जर्मनीले जस्तै उसले पनि राजदूतावासमा खटिने कर्मचारिको सङ्ख्या एकदमै न्यून हुने उल्लेख गरेको छ।
डेनमार्क र नर्वेले आफ्ना दूतावास पूर्ण रूपमा बन्द गर्ने बताएका छन्।
अफगान युद्ध: जान्नै पर्ने कुरा
- अमेरिकी नेतृत्वको फौजद्वारा तालिबान सत्ताच्युत: सन् २००१ मा अमेरिकी नेतृत्वको फौजहरूले अफगानिस्तानका तालिबान शासकहरूबाट सत्ता खोसेका थिए। सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा अल कायदाका नेता ओसामा बिन लादेनको योजनामा आक्रमण गरिएपछि अमेरिकी फौज अफगानिस्तान पसेका थिए।
- २० वर्षको सैनिक कारबाही: अमेरिका र उसका साझेदारहरूले निर्वाचन र अफगान सुरक्षा फौजको निर्माणको सुपरिवेक्षण गरे तर तालिबानहरूले आक्रमणलाई जारी राखे।
- अन्तत, अमेरिकाले तालिबानसँग सम्झौता गर्यो: तालिबानहरूले आतङ्कवादीहरूलाई संरक्षण नदिन सहमति जनाए फौज फिर्ता गर्ने अमेरिकीहरूले बतायो। तर तालिबान र अफगान सरकारबीचको वार्ता विफल भयो। अमेरिकी नेतृत्वको फौज यसै वर्ष फिर्ता भयो र तालिबानले अहिले देशको अधिकांश हिस्सामा नियन्त्रण कायम गरेका छन्।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले तालिबानहरूलाई युद्ध अन्त्य गर्न र अन्तर्राष्ट्रिय समुदायलाई सैनिक बलका मद्दतले गरिएको सत्ता कब्जा मान्य हुने प्रस्ट पार्न भन्नुभएको छ।
‘प्रत्येक दिन द्वन्द्वले महिला र बालबालिकामाथि ठूलो असर पारिरहेको छ। निरन्तर शहरी क्षेत्रमा द्वन्द्व भयो भने त्यसले निम्त्याउने नर संहारबाट गैरसैनिकले ठूलो मूल्य चुकाउनुपर्छ’, उहाँले भन्नुभयो।

तालिबान
राष्ट्रसङ्घका महासचिवले औषधिको आपूर्ति कम हुँदै गरेको र विद्यालय र स्वास्थ्य चौकी जस्ता महत्त्वपूर्ण संरचनामा क्षति पुगेको उल्लेख गर्नुभएको छ।
राष्ट्रसङ्घले छिमेकी देशहरूलाई मानिसहरूको सुरक्षाका लागि सीमा खुला राखिदिन अनुरोध गरेको छ।
राष्ट्र सङ्घका अनुसार पछिल्लो एक महिनामा मात्रै अफगानिस्तानमा १ हजार भन्दाबढी गैर सैनिक मारिएका छन्।
काबुलको बाहिरी क्षेत्रमा अस्थायी शिविर खडा गरिएका छन् भने सुरक्षा खोजिरहेका कतिपय व्यक्तिहरू सडकमै सुतिरहेका छन्।
भागेर राजधानी आउनेमध्ये ७२ हजार बालबालिका रहेको एउटा परोपकारी संस्था सेभ द चिल्ड्रेनले जनाएको छ।
अलग्गै घटनाक्रममा क्यानडाले महिला नेतृ, मानवअधिकारवादी कार्यकर्ता र पत्रकार गरी २० हजार जोखिममा परेका अफगान नागरिकलाई पुनर्वास गराउने बताएको छ।


















