काबुल(अफगानिस्तान), ३१ साउन(एजेन्सी) । अफगानिस्तानको सशस्त्र बिद्रीही समूह तालिबानले हाल अफगानिस्तानका ३४ मध्ये २४ प्रान्त नियन्त्रणमा लिइसकेको बताइएको छ ।
तालिबान लडाकु समूहले अफगानिस्तानका एक पछि अर्को सहर आफ्नो नियन्त्रणमा लिएसँगै हजारौँ सर्वसाधारणहरू तुलनात्मक रूपमा सुरक्षित राजधानी काबुल पुगेका छन्।
उक्त लडाकु समूह पनि हाल काबुल नजिक पुगेको बताइएको छ।
अमेरिकाले काबुल प्रान्त प्रवेश गर्ने क्षेत्रमा तालिबान लक्षित हवाई हमला गरेको विवरणहरू आइरहेका छन्।
अमेरिकी गुप्तचर निकायले तालिबानले ३० दिनभित्र राजधानी काबुल कब्जा गर्ने कारबाही थाल्ने आकलन गरेको छ। तर सरकारी सुरक्षाकर्मीहरुको घट्दो आत्मबल र समर्पणका घटनाले त्यसपहिले नै लडाकूले अफगानिस्तान नियन्त्रणमा लिन सक्ने बताइएको छ ।
पछिल्लो हप्ता तालिबानले तीव्र गतिमा देशका विभिन्न स्थानहरूमा आफ्नो पकड जमाउँदै गएको छ।
शनिबार तालिबानले थप दुई प्रान्तिय राजधानी नियन्त्रणमा लिएको छ । देशको उत्तरतर्फको मजारे सरिफ तालिबानको नियन्त्रणमा गएको छ । बल्ख प्रान्तका विधायक इब्राहिम जादाले बताए अनुसार पहिले राष्ट्रिय सेनाले आत्मसमर्पण गरे त्यसपछि अर्धसैनिक सुरक्षा बलले । देशका दोस्रो ठूलो शहर हेरत र तेस्रो शहर कान्दाहार कब्जामा लिएपछि तालिबानको लागि मजारे सरिफ अर्को ठूलो उपलब्धि थियो, यो चौथो ठूलो शहर हो । अब सरकार काबुल र पूर्वी शहरहरुमा सीमित भएको छ ।

शनिबार तालिबानले काबुलको दक्षिणी भागका सबै ठूला शहरहरु कब्जामा लिएको छ र उनीहरु काबुलबाट जम्मा ११ कि.मी.को दूरीमा रहेका चार अस्याब जिल्ला पुगेका छन् । पछि उनीहरुले काबुलको उत्तरपश्चिममा रहेको लाघमन प्रान्तको राजधानी मिहतरलाम कुनै लडाइँबिना नै कब्जामा लिए ।
शनिबार नै तालिबानले पाकिस्तानसंग जोडिएका पक्तिका र कुनार प्रदेश पनि नियन्त्रणमा लिएका छन् । त्यस्तै उत्तरको फारयाव र केन्द्रको डेकुण्डी प्रदेश पनि पनि तालिबानको नियन्त्रणमा गएको छ ।
शुक्रबार तालिबानले पुल-ए-आलम नियन्त्रणमा लिएको थियो जुन सङ्घीय राजधानी काबुल भन्दा ८० किलोमिटर टाढा छ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले अफगानिस्तानको अवस्था नियन्त्रण बाहिर जान लागेको र युद्ध जारी रहे त्यसको सबैभन्दा ठूलो मूल्य सर्वसाधारणहरूले चुकाउनु पर्ने बताउनुभएको छ ।
तालिबानका अग्रपङ्क्ति रहेका कमान्डर तथा सेनाले इस्लामिक शरिया कानुनको आफ्नो संस्करण पुनः लागु गराउने विषयमा आफूहरू कटिबद्ध रहेको बताएका छन्।
उक्त कानुनमा १२ वर्षभन्दा माथिका महिलाहरूलाई विद्यालय जानबाट रोक्ने, चोरीको आरोप लागेकाहरूको हात वा खुट्टा काटिदिने र यौन व्यभिचार गर्नेहरूलाई ढुङ्गाले हान्ने जस्ता प्रावधान छन्।
राष्ट्रपतिको संबोधन

यसैबीच अफगानिस्तानका राष्ट्रपति असरफ गनीले शनिबार देशबासीको नाममा संक्षिप्त सार्वजनिक सम्बोधन गर्नुभएको छ।
‘तपाईँहरूको राष्ट्रपतिको नाताले मेरो ध्यान थप अस्थिरता, हिंसा र जनताको विस्थापन रोक्नमा केन्द्रित छ’, उहाँले भन्नुभयो।
‘हालको परिस्थितिमा हाम्रो सुरक्षा र रक्षा बलको पुनः परिचालन हाम्रो सबैभन्दा ठूलो प्राथमिकता हो र यस सम्बन्धमा गम्भीर कदमहरू चालिँदै छ।’गनीले तालिबान विद्रोहीहरूको सामना गरिरहेका ुुसाहसीुु सुरक्षा फौजको पनि प्रशंसा गर्नुभयो।
राष्ट्रपति गनीले राजीनामा गर्न सक्ने आशङ्काकाबीच सार्वजनिक सम्बोधन गर्नुभएको हो ।
थप अमेरिकी सेना काबुलमा

अमेरिकी राष्ट्रपति जो बाइडनले ३१ अगष्टमा सबै अमेरिकी सेनाले सुरक्षित रुपमा अफगानिस्तान छोडिसक्ने समय रेखा निर्धारण गर्नुभएको छ ।
तर सो समय अगावै तालिबानी बिद्रोहीहरुले अफगानिस्तानको राजधानीमा समेत आक्रमण गरी कब्जा गर्ने जोखिम बढ्दै गएपछि अमेरिकाले त्यहाँ रहेका आफ्ना सैनिक, तिनका सहयोगी र कुटनीतिक नियोगका कर्मचारीहरुलाई सुरक्षित रुपमा स्वदेश फर्काउन ३ हजार थप सैन्य पठाउने भन्नुभएको छ र आवश्यकता अनुसार त्यो ५ हजारसम्म पुग्ने जनाइएको छ ।
अमेरिकी सैन्यको मेरिन डफ्फा शुक्रबार आइपुगेको छ भने अन्य थप डफ्फाहरु आज आउने छन् ।
अमेरिका अझै पनि तालिबानसंग वार्ता गरेर अफगानिस्तानमा हालसम्म गरिएका निर्वाचित सरकार स्थापना गर्ने अफगानिस्तानलाई आधुनिक राज्य बनाउने प्रयासलाई निरन्तरता दिन लगाउने प्रयासमा छ ।
यस्तै बैठक यो हप्ता पनि कतारमा आयोजना हुँदै छ । उसले सरकार र तालिबानको बीचमा मध्यस्थता गरिरहेको छ ।
सशस्त्र विद्रोही तालिबानले अमेरिकी फौज अफगानिस्तानमा आएपछि उनीहरुविरुद्धको कारबाहीमा साथ दिने स्थानीयलाई प्रतिशोध लिने देखिएपछि अमेरिकाले उनीहरुलाई कुवेतमा पुनस्थापना गराउने योजनामा पनि काम गरिरहेको छ ।


















