काठमाडौं, ३१ साउन । सत्तारुढ नेपाली कांग्रेसले आफ्ना ९ वटा भातृ संघहरूको म्याद छ महिना थप्ने निर्णय गरेको छ।
शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसमिति बैठकले भातृ संघहरूको म्याद छ महिना थप गर्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिको १२ औं बूँदामा भनिएको छ,म्याद समाप्त भएका पार्टी आवद्ध भ्रातृ संघहरु— नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ्ग संघ र नेपाल ठाकुर समाजको पदावधी समाप्त भएको मितिले ६ महिना थप गर्ने ।
कांग्रेसका अधिकांश भातृ संस्थाहरुको अधिवेशन समयमै भएका छैनन्।
पार्टीको महाधिवेशनमा भातृ संगठनबाट पनि प्रतिनिधित्व हुने भएकोले पार्टी महाधिवेशन अगावै सबै भातृ संगठनको महाधिवेशन गराउनु औचित्यपूर्ण हुने थियो तर नेपाली कांग्रेसले मनोनितहरुको भीडबाटै प्रतिनिधि चयन गरेर महाधिवेशन सम्पन्न गर्ने मार्ग अवलम्बन गरेको छ ।
नियमित अधिवेशन नगरिदा नेपाली कांग्रेसका भातृ संगठनहरु नेताहरुका लागि आफू नजिकका कार्यकर्तालाई मनोनित गर्दै थन्को लगाउने भक्तजनको मण्डलीमा परिणत हुँदै गएका छन् ।
भातृसंगठनहरु आफ्नो क्षेत्रका जनशक्तिलाई समेटेर संगठन बलियो बनाउने र तिनका समस्याहरु समाधान गर्ने निकायका रुपमा स्थापित हुन सकेका छैनन् ।


















