Prakash Adhikari August 15, 2021

काठमाडौं, ३१ साउन । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अफगानिस्तानमा रहेका नेपालीहरुलाई  उद्धार गर्न निर्देशन दिएको छ।

समितिको आइतबार बसेको बैठकले अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्न निर्देशन दिएको हो ।

अफगानिस्तान सशस्त्र बिद्रोही तालिबानको कब्जामा जाने अवस्था देखिएपछि नेपाली नागरिकको सुरक्षामा गम्भीर प्रश्न उठेको भन्दै समितिले आज परराष्ट्र मन्त्रालयसंग यसको बारेमा जानकारी लिएको थियो ।

समितिको बैठकमा परराष्ट्र सचिव भरत पौडेलले औपचारिक क्षेत्रमा करीब १ हजार ५ सय नेपाली कार्यरत रहेको बताउदै उनीहरुलाई अन्य कर्मचारीहरुसँगै सुरक्षित स्थानमा लैजान सम्बन्धित संस्थालाई आग्रह गरिएको जानकारी दिनुभएको थियो ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार बसेको बैठकमा परराष्ट्र सचिव पौडेलले अनौपचारिक क्षेत्रमा कार्यरत नेपालीहरुलाई सम्पर्कमा आउन सूचना जारी गर्ने तयारी भइरहेको बताउनुभएको थियो ।

आइतबार बिहान मात्र मुख्यसचिवको नेतृत्वमा बसेको बैठकले परराष्ट्रका सहसचिव हरिशचन्द्र घिमिरेको नेतृत्वमा संयन्त्र बनाएको थियो जसमा सीसीएमसीका साथै गृह, पर्यटन लगायतका आवश्यकका मन्त्रालयका प्रतिनिधि छन् ।

यस अगाडि परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा करिब १ हजार नेपाली अनौपचारिक क्षेत्रमा करारमा कार्यरत रहेको बताउदै अहिल्यै काबुल नियन्त्रण बाहिर जाने अवस्था नभएको तर करार सकिएका नेपालीलाई करार नवीकरण नगरी स्वदेश फिर्ता गर्न आग्रह गरिएको बताएको थियो ।

 

 

Share Now

Leave a comment.