Prakash Adhikari August 21, 2021

काबुल(अफगानिस्तान), ५ भाद्र(बीबीसी) । अमेरिकी राष्ट्रपति जो बाइडनले दशौँ हजार अमेरिकी र अफगान सहयोगीहरूलाई उद्धार गर्ने प्रयासमा थप मानिसको मृत्यु हुनसक्ने बताएका छन्।

काबुलबाट उद्धार गर्ने जिम्मेवारी खतरामुक्त नरहेको भन्दै उनले अमेरिकाले आफ्नो सम्पूर्ण स्रोतसाधन परिचालन गरेर १० दिनको समयसीमाभित्र उक्त काम सम्पन्न गर्ने बताए।

अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ताले काबुल विमानस्थलको परिसरभन्दा केही बाहिरबाट तीनवटा सैनिक हेलिकप्टरले १६९ जना अमेरिकीको उद्धार गरेको बताए।

दुई सय मिटर परको होटलमा बसिरहेको उक्त समूह भिड पार गरेर विमानस्थलभित्र जान सकेको थिएन।

तालिबानले अफगानिस्तानमा आफ्नो नियन्त्रणमा कायम गरेपछि अमेरिकी सेना विमानस्थलबाहिर निस्किएको जानकारीमा आएको यो पहिलो घटना हो।

बाइडनको भनाई

ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति बाइडनले ूइतिहासकै एउटा सबैभन्दा ठूलो र अत्यन्त कठिन हवाई उद्धारू मा १३,००० जनाको उद्धार गरिसकिएको बताउनुभयो ।

तर अफगानिस्तानबाट उद्धार गर्न खोजिएका अमेरिकी नागरिकलाई तालिबानले अवरोध नपुर्‍याएको भन्ने राष्ट्रपतिको भनाइ आफ्नै रक्षामन्त्रीसँग बाझिएको छ।

बाइडनले अमेरिकी राहदानीवाहक जो कोहीलाई तालिबानहरूले विमानस्थलसम्म आउन दिइरहेको बताउनुभएको थियो।

Hero of Kabul: USAF pilot flies out 640 Afghans on C-17 cargo jet designed  to carry just 150 | MEAWW

तर काबुलबाट प्राप्त कैयौँ विवरणमा विमानस्थलसम्म आउन अमेरिकीहरूले बाधा खेप्नुपरिरहेको बताएका छन्।

शुक्रवार अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले सांसदहरूसँगको ब्रीफिङमा तालिबानले अफगानिस्तान छाड्न चाहने अमेरिकीलाई पिटेको जानकारी दिनुभएको पोलिटिकोमा प्रकाशित समाचारमा उल्लेख छ।

तालिबानहरूले सत्ता कब्जा गरेपछि राष्ट्रपति बाइडनले अन्तर्राष्ट्रिय स्तरमै आलोचना खेपिरहनुभएको छ।

“घर फर्किन इच्छुक कुनै पनि अमेरिकीलाई हामी घरमा ल्याइपुर्‍याउँछौँ “, सङ्कटलाई सम्बोधन गर्न बिदा छोट्याएर फर्किएर अमेरिकी राष्ट्रपतिले भन्नुभयो ।

अमेरिकी नागरिकहरूको उद्धार ‘प्राथमिकता’ रहेको भन्दै उहाँले अमेरिकी सेनालाई सहयोग गर्ने ५० हजार देखि ६५ हजार जना अफगान सहयोगीलाई पनि त्यहाँबाट अन्यत्र लगिने बताउनुभयो।

‘कुनै गल्ती गर्नुहुँदैन। यो उद्धार अभियान खतरनाक छ। यसमा हाम्रा सशस्त्र सैनिकका लागि जोखिम छ र यो अप्ठेरो परिस्थितिमा गरिदैँछ’, उहाँले भन्नुभयो।

चर्को आलोचना

अमेरिकी गुप्तचर निकाय अफगानिस्तानको अवस्थाको सही विश्लेषण गर्न कसरी विफल भयो भन्ने प्रश्न यो हप्ता बाइडन प्रशासनमाथि बारम्बार उठाइएको थियो।

शुक्रवार बाइडनले अफगानिस्तानको मामिलामा गुप्तचरी विफलता भएको अवधारणाको पुनः खण्डन गर्नुभयो ।

उहाँले उच्च अधिकारीहरूबीच तालिबान यति चाँडै सत्तामा पुग्ने सम्भावना एकदमै नरहेकोबारे सहमति रहेको उल्लेख गर्नुभयो।

अफगानिस्तान

अफगानिस्तानबाट भाग्न चहानेको सङ्ख्या हजारौँ रहेको छ

अफगानिस्तानका घटनाक्रमले विश्वव्यापी स्तरमा अमेरिकी छविमा आँच पुर्‍याएको भन्ने भनाइको पनि उहाँले प्रतिवाद गर्नुभयो। उहाँले अमेरिकाका विश्वभरिका साझेदारहरूले विश्वसनीयतामा प्रश्न नउठाएको पनि जनाउनुभयो।

अफगान युद्ध संयुक्त प्रयास भएको भन्दै बाइडनले जी सेभन देशका नेताहरूको बैठक गरेर भावी रणनीति तय गरिने जनाउनुभयो।

शुक्रवार साउथ क्यारलाइनाकी रिपब्लिकन सिनेटर लिन्ड्जे ग्राहमले यदि अमेरिकाले आफ्ना एक नागरिक वा अफगान सहयोगीलाई त्यसै छाडिदियो भने राष्ट्रपतिमाथि महाभियोग लगाउनुपर्ने बताउनुभयो।

कैयौँ डेमोक्र्याटहरूले पनि बाइडनको आलोचना गरिरहनुभएको छ।

सिनेटको शक्तिशाली अन्तर्राष्ट्रिय सम्बन्ध समितिको अध्यक्ष रहेका न्यूजर्सीका सिनेटर बब मेनेन्डिजले अफगानिस्तानको त्रुटिपूर्ण सैन्य फिर्तीको पूर्ण विवरण आफूले खोजी गर्ने बताउनुभएको छ।

अमेरिकाले आगामी अगस्ट ३१ भित्र अफगानिस्तानबाट पूर्ण रूपमा सेना फिर्ता गरिसक्ने बताएको छ।

अफगानको भविष्यप्रतिको चिन्ता

तर अझै पनि दशौँ हजारले उद्धारको प्रतीक्षा गरिरहेका छन्। सबै अमेरिकी नागरिकको उद्धार सुनिश्चित गर्न अमेरिकी सेना उक्त मितिभन्दा परसम्म बस्न सक्ने यसै हप्ता बाइडनले सङ्केत गर्नुभएको थियो।

हाल उद्धारमा सघाउन अफगानिस्तानमा झन्डै ६ हजार अमेरिकी सैनिक रहेको बताइन्छ।

तर अफगानिस्तानबाट बाहिर जान विमानस्थल पुग्न चाहनेहरूले ठूलो भिड र तालिबानको जाँच चौकी पार गरिरहनुपरेको छ।

राष्ट्रपति बाइडनले अमेरिकाले तालिबानसँग निरन्तर संवाद कायम गरिरहेको पनि बताउनुभएको छ।

US AIRFORCE – J99news
तालिबानको काबुल यात्राः यस्तो छ समयक्रम

  • एप्रिल: अमेरिकी राष्ट्रपतिद्वारा अफगानिस्तानबाट आफ्नो सेना बाहिरिने घोषणा। मे महिनाबाट सुरु भएर सेप्टेम्बरसम्ममा सकिने लक्ष्य राखिएको उक्त प्रक्रियाले अमेरिकाको सबैभन्दा लामो युद्ध समापन गराउने बताइएको थियो
  • मे: तालिबानद्वारा दक्षिणी हेलमन्द प्रान्तमा भीषण आक्रमण। अन्य प्रान्तमा पनि आक्रमणको सुरुवात
  • जुन: तालिबानले ३७० मध्ये ५० भन्दा बढी जिल्ला नियन्त्रणमा लिएको अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूतको भनाइ। उत्तरी भागमा तालिबानको शृङ्लाबद्ध आक्रमण
  • २१ जुलाई: एक वरिष्ठ अमेरिकी जेनरलका अनुसार लगभग आधा जिल्लाहरू तालिबानको नियन्त्रणमा
  • ६ अगस्ट: लडाकु समूहद्वारा जारान्ज कब्जा, तालिबानको पकडमा गएको पहिलो प्रान्तीय राजधानी
  • १३ अगस्ट: दोस्रो ठूलो सहर कान्दहारसहित अन्य चार प्रान्तीय राजधानी तालिबानको नियन्त्रणमा
  • १४ अगस्ट: उत्तरी सहर मजार-ए-शरिफमाथि तालिबानको कब्जा
  • १५ अगस्ट: युद्धबिनै प्रमुख पूर्वी सहर जलालाबाद तालिबानको कब्जामा, राष्ट्रपति अशरफ गनी विदेश पलायन, राष्ट्रपति भवनमा तालिबान लडाकुहरू प्रवेश
Share Now

Leave a comment.