Prakash Adhikari August 24, 2021

काठमाडौं, ८ भदौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, खाना पकाउने ग्यासलगायत पेट्रोलियम पदार्थको मूल्य समायोजना गरेको छ ।

निगमले सोमबार विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बृद्धि हुन गएकोले मूल्य समायोजन गर्नुपरेको जनाएको छ।

समायोजित मूल्यमा पेट्रोल २ रूपैयाँ महंगिएर १ सय ३० रूपैयाँ प्रति लिटर हुन पुगेको छ भने डिजल मट्टीतेल प्रतिलिटर १ सय १३ रूपैयाँ र आन्तरिक हवाई इन्धनको मूल्य ८६ रुपैयाँ कायम भएको छ ।

मूल्य समायोजन गर्दा खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर २५ रूपैयाँ बढेर १ हजार ४ सय ५० हुन गएको छ।

अन्तरराष्ट्रिय हवाई इन्धनको मूल्य भने प्रति किलोलिटर १७ अमेरिकी डलरले बढाएर ७ सय ७० अमेरिकी डलर पुगको छ।

नयाँ मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैया ४२ पैसा, डिजलमा २ रुपैया ६४ पैसा र एल.पी.ग्यासमा प्रति सिलिण्डर ४२० रुपैया ७५ पैसा घाटा भएको निगमले जनाएको छ ।

यो समायोजित मूल्य पछि पनि निगमलाई १५ दिनमा रु.९६ करोड ९ लाख नोक्सान हुने निगमको दावी छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले सोमबार जारी गर्नुभएको विज्ञप्तिमा जनाइए अनुसार समायोजित मूल्यमा पनि नेपालको भारतसंगको सीमावर्ति व्यापारिक शहर बीरगञ्जमा भारतको रक्सौलमा भन्दा पेट्रोल प्रति लिटर ४१ रुपैया १९ पैसा र डिजल प्रति लिटर ४४ रुपैया ४ पैसाले सस्तो भएको उल्लेख छ ।

Share Now

Leave a comment.