काठमाडौं, ८ भदौ । सर्वोत्तम सिमेण्टको शेयर खरिद बिबादमा मुछिनुभएका नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिनुभएको छ ।
‘बुक बिल्डिङ’ प्रक्रियाबाट आईपीओ जारी गर्ने प्रक्रिया थालेको सर्वोत्तम सिमेण्टको शेयर नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले श्रीमतीको नाममा खरिद गर्नुभएको थियो ।
निर्धारित प्रकृया पुर्याएर दोस्रो बजारमा शेयर कारोबार गराउन इच्छुक कम्पनीहरुलाई निश्पक्षतापूर्वक ब्यापार गर्ने प्रबन्ध जुटाइदिने जिम्मेवारी पाएको बजार सञ्चालक नेप्सेका कार्यकारी प्रमुखले आफ्नो पदाधिकारको दुरुउपयोग गरेर श्रीमतीको नाममा सेयर किनेपछि सीईओ साउद विवादमा तानिनुभएको थियो ।
सो विवाद सार्वजनिक भएपछि अर्थ मन्त्रालयले समेत साउदलाई स्पष्टीकरण सोधेको थियो ।
संसदको अर्थ समितिका सदस्यहरुले साउदलाई निलम्बन गरी छानबिन गरेर दोष अनुसारको कारबाही गर्न अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।
प्रमुख कार्यकारी अधिकृत साउदले मंगलबार अर्थ मन्त्रालयमा नेप्सेका अध्यक्ष दीर्घराज मैनालीको उपस्थितिमा राजीनामापत्र बुझाउनुभएको छ ।
साउदको कार्यकाल करिब २ महिना मात्रै बाँकी थियो ।
सेबोन अध्यक्षलाई दबाब
पदाधिकारको अनुचित उपयोग गरेर सर्वोत्तम सिमेण्टको शेयर परिवारको सदस्यको नाममा खरिद गरेको आरोप लागेका नेप्से प्रमुख चन्द्रसिंह साउदले राजिनामा दिएपछि सोही प्रकरणमा मुछिनुभएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना नैतिक दबाबमा पर्नुभएको छ ।
नेपालको धितोपत्र बजारको नियमन निकायको रुपमा रहेको बोर्डका अध्यक्ष ढुंगानाले सर्वोत्तम सिमेण्टको शेयर अमेरिकामा रहेकी आफ्नी सुपुत्री निकिता ढुंगानाको नाममा किन्नुभएको थियो ।
धितोपत्र बोर्डले बोर्डका सदस्य र कर्मचारीहरुका लागि पनि आइपीओ बाहेक अन्य शेयर कारोबारमा संलग्न हुन नपाउने गरी आचारसंहिता जारी गरेको छ ।
बोर्डमा दर्ता भएर यसले अनुमति दिएका बजार सञ्चालकहरुमा कारोबार हुने कम्पनीहरुका हरेक आर्थिक सूचनाको पहुँच हुनेभएकोले ती कम्पनीहरुको शेयर कारोबारमा व्यक्तिगतरुपमा संलग्न हुन बोर्डले रोक लगाएको हो ।
तर अध्यक्ष ढुंगानाले आफ्नो संस्थाको आचार संहिता, नियमन निकायको प्रमुखको पदीय मर्यादा र नैतिकतालाई चटक्कै विर्सेर आफ्नो पदको प्रभाव देखाएर बुकबिल्डिड. विधिबाट आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेण्टको शेयर खरिद गर्नुभएको थियो ।
नेप्से प्रमुख साउदको राजिनामाले सेबोन अध्यक्ष ढुंगानालाई पनि केही दिनमा त्यही बाटोमा लतार्ने निश्चित जस्तै छ । एकै खालको अपराधमा एक जनालाई राजिनामा र अर्कोलाई उन्मुक्ति कसरी संभव होला र ?



















