Prakash Adhikari August 25, 2021

काठमाडौं,९ भाद्र । निर्वाचन आयोगमा आज एमालेबाट अलग हुनुभएका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा(एकीकृत समाजवादी) र जनता समाजवादीबाट अलग भएर आफ्नो नेतृत्वमा नयाँ दल लोकतान्त्रिक समाजवादी गठन गर्नुभएका महन्थ ठाकुरको पार्टीको सनाखत हुने भएको छ ।

नयाँ पार्टी गठन पछि आधिकारिक मान्यताका लागि निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी आयोगले सनाखतका लागि आज((बुधबार) बोलाएको छ ।

आयोगले दुबै दललाई सनाखतका लागि अढाई घण्टा समय निर्धारण गरेको छ । विहान ११ः३० देखि दिउँसो २ः०० बजेसम्म आयोगमा गएर नेताहरुले सनाखत गर्नुपर्नेछ ।

आयोगले तोकेको निर्धारित समयभित्र सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नेकपा एमालेबाट अलग्गिनुभएका माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।

नयाँ दल दर्ताको आधिकारिक मान्यता प्राप्तिको लागि दिएको निवेदनमा सनाखत नहुँदै आफ्ना पार्टीका सदस्यहरु चोरिन्छन कि भनेर नेता नेपालले आफ्ना दलको केन्द्रीय कार्य समितिमा रहनु भएका पदाधिकारी तथा सदस्यहरु, सांसदहरुलाई पार्टीको विधान,संगठन निर्माण र भावि रणनीतिबारे छलफल गराउने नाममा सोमबारदेखि चन्द्रागिरि हिल्स रिसोर्टको बन्द शिबिरमा राख्ने व्यवस्था गर्नुभएको छ ।

उहाँको पार्टीका पदाधिकारी र सदस्यहरु त्यहीबाट सीधै निर्वाचन आयोग जाने कार्यक्रम रहेको छ ।

सरकारले दल विभाजनका लागि सहज हुनेगरी भदौ २ गते, बुधबार अध्यादेश ल्याएपछि दुबै दललाई नयाँ पार्टी गठनका लागि बाटो खुलेको हो ।

Share Now

Leave a comment.