काठमाडौं, १३ भाद्र । नेपालमा थप १हजार३ सय ८८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २४ जनाको कोभिड १९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या आठ लाख ४२ हजार नाघेको छ भने मृतकको सङ्ख्या १० हजार ७ सय १४ पुगेको छ।
आइतवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १० हजार २ सय ९७ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
तीमध्ये ३ हजार ३८ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।

दाङमा दोस्रो मात्रा खोप लगाइँदै
अहिले कुल परीक्षणको १९.५ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।
मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा २ हजार २ सय ६० जना सङ्क्रमणमुक्त भएका छन्।
कहाँ छन् सङ्क्रमित ?
हाल ३,०५२ जना संस्थागग आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ।
अस्पतालमा उपचार गराइरहेकामध्ये ६ सय २५ जना सघन उपचार कक्ष आईसीयूमा र १ सय ६७ जना भेन्टिलेटरमा छन्।

काठमाडौंमा भिडभाड
विगत २४ घण्टामा सबैभन्दा बढी काठमाण्डू जिल्लामा ३१२ सङ्क्रमित भेटिएका हुन्।
नेपालभरि २० जिल्लामा ५ सय भन्दाबढी सक्रिय सङ्क्रमित छन् भने थप १९ जिल्लामा २ सयदेखि ४ सय ९९ सक्रिय सङ्क्रमित रहेका मन्त्रालयको तथ्याङ्क छ।
५ सय भन्दाबढी सक्रिय सङ्क्रमित कहाँ धेरै ?
५ सय भन्दाबढी सक्रिय सङ्क्रमित भएका जिल्लाहरूको सङ्ख्या वाग्मती प्रदेशमा उच्च छ।
उक्त प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, सिन्धुपालचोक र नुवाकोट जिल्लामा सङ्क्रमितहरूको सङ्ख्या ५ सय भन्दाबढी छ।
गण्डकी प्रदेशको नवलपरासी पूर्व, कास्की,बागलुङ, गोरखा, स्याङ्जा र तनहुँमा ५ सय भन्दाबढी सक्रिय सङ्क्रमित छन्।
प्रदेश १ का मोरङ, सुनसरी र झापाको अवस्था पनि त्यस्तै छ।
लुम्बिनी प्रदेशका दुई जिल्ला दाङ र रूपन्देहीमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने कर्णाली प्रदेशको सुर्खेतमा पनि सङ्ख्या ५ सय माथि छ।
कतिले लगाए खोप
अहिलेसम्म पूर्ण मात्रामा खोप लगाउनेहरूको सङ्ख्या ४० लाख ५२ हजार नाघेको मन्त्रालयले जनाएको छ।
प्राविधिक समस्याका कारण पछिल्लो २४ घण्टामा खोप दिइएकाहरूको अद्यावधिक तथ्याङ्क आइतवार समावेश गर्न नसकिएको मन्त्रालयले जनाएको छ।
कोभिशील्ड, भेरो सेल र जोनसन एन्ड जोनसन खोप मात्र नेपाल आएका छन्।
जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने कोभिशील्डको र भेरो सेलको दुई मात्रा लगाउनुपर्छ।(बीबीसीबाट)


















