काठमाडौं, १५ भाद्र । नेपाल कम्युनिष्ट पार्टी (एमाले(का तर्फबाट बागमती प्रदेशसभामा प्रतिनिधित्व गरेका १२ सदस्य र सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० जनाले एमालेबाट अलग्गिएर माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा (एकीकृत समाजवादी( पार्टी रोजेका छन् ।
उनीहरुले औपचारिकरूपमा एमाले पार्टी छोड्दै नवगठित नेकपा (एकीकृत समाजवादी( पार्टी रोजेका हुन् । बागमती प्रदेशमा समाजवादी रोज्नेमा मुख्यमन्त्री शाक्य नेतृत्वमा भर्खरै गठन भएको सरकारका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालसमेत रहनुभएको छ ।
बाह्र जना प्रदेशसभा सदस्यले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा जानका लागि सनाखत गरेको बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयले जानकारी दिएको छ ।
बागमती प्रदेशमा एकीकृत समाजवादी रोज्नेमा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईँ, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, वसन्त मानन्धर, रमा आलेमगर, कुसुमकुमार कार्की र कृष्ण शर्मा खनाल हुनुहुन्छ।
बाह्र प्रदेशसभा सदस्यले दल परिवर्तन गरेपछि अष्टलक्ष्मी शाक्य नेतृत्वको नवगठित सरकार अल्पमतमा परेको छ ।
सुदूरपश्चिममा पनि माधवको पार्टीमा १० जना प्रदेशसभा सदस्य
नेकपा (एमाले)बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित १० जना सदस्यले आज नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा सनाखत गराउनुभएको छ ।
धनगढीस्थित प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले एमालेबाट निर्वाचित १० प्रदेशसभा सदस्यले आज कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा सनाखत गराउनुभएको जानकारी दिनुभयो ।
“सनाखत गराउन सक्ने अधिकार प्रदेश निर्वाचन कार्यालयलाई दिइए पनि कुन सदस्यले सनाखत गरेको भनेर नाम खुलाउन नमिल्ने निर्देशन आयोगको छ”, कार्यालयका प्रमुख भट्टले भन्नुभयो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, राज्यमन्त्रीद्वय चुनकुमारी चौधरी र मनाकुमारी साउद, एमाले संसदीय दलका प्रमुख सचेतक दुर्गाकुमारी कामी, पूर्वमन्त्री माया भट्टले सनाखत गरी नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्नुभएको छ ।
यसैगरी प्रदेशसभा सदस्य सुशीला बुढाथोकी, अमरबहादुर साउद, कुलवीर चौधरी र बलबहादुर सोडारीले पनि नयाँ पार्टीमा सनाखत गराउनुभएको छ ।
भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, राज्यमन्त्री अर्चना गहतराज र कञ्चनपुर एमालेका अध्यक्ष एवं प्रदेशसभा सदस्य तारा लामा तामाङको आज कागजात नपुगेकाले उहाँहरुले भोलि सनाखत गराउनुहुने मन्त्री पूर्णा जोशीले जानकारी दिनुभयो ।
“कुनै पनि पार्टी विचार, नीति, सिद्धान्तले चल्छ”, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यसमेत रहनुभएकी मन्त्री जोशीले भन्नुभयो, “कम्युनिष्ट आन्दोलन जोगाउन हामीले नयाँ पार्टी खडा गर्नुपरेको हो ।” आन्तरिक मामिला तथा कानुनमन्त्री जोशी र पूर्वमन्त्री भट्ट एकीकृत समाजवादीको केन्द्रीय सदस्य हुनुहुन्छ । प्रदेशसभामा विभिन्न दलबाट निर्वाचित ५२ सदस्य रहेका छन् ।
प्रदेशसभामा सभामुखसहित २५ जना सदस्यसहित एमाले सबैभन्दा ठूलो दल थियो ।
प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)का उपसभामुखसहित १३, नेपाली कांग्रेसका १२ र साविक राष्ट्रिय जनता पार्टीका दुई सदस्य रहेका छन् ।
सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशमा यही भदौ २२ गतेसम्म नयाँ दल रोज्न पाउने व्यवस्था गरिएको जनाइएको छ ।


















