काठमाडौं, १५ भाद्र । दार्चुलाको व्यास गाउँपालिका–२ खाङ्दाङ्का जयसिंह धामी महाकाली नदीका मालघाटबाट तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल(एसएसबी)का जवानले तुइनको तार काटिदिएपछि तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाको छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।
समितिले जयसिंह धामी तर्ने समयमा भारततर्फ डोरी बाधिएको स्थलवरपर भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानहरुको उपस्थिति देखिएको निष्कर्ष निकालेको छ ।
समितिले आज गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको प्रतिवेदनले उक्त घटना भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएको औँल्याएको गृहमन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । समितिले घटनाको अनुसन्धान गरी दोषीउपर कानुनी कारवाही गर्न र धामीका परिवारलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने सन्दर्भमा भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न पनि सिफारिस गरेको मन्त्रालयले जनाएको छ ।
यस्तै आश्रित परिवारलाई नेपाल सरकारको तर्फबाट पालनपोषण र शिक्षादीक्षाको उचित व्यवस्थापन गर्न सिफारिस गरिएको छ । गृहमन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा साउन १७ गते छानबिन समिति गठन गरेको थियो । घटना भने साउन १५ मा भएको थियो ।
यता नवलपरासीको बर्दघाटमा सवारी दुर्घटनामा प्रहरी निरीक्षक कपिल वाग्लेको निधन भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिले मोटरसाइकल चालक दीपक पुन र स्व वाग्लेको असावधानीका कारण दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन आजै गृहमन्त्रीलाई बुझाएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।


















