Prakash Adhikari February 26, 2018

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिमण्डल विस्तार गर्ने संभावना छ।

प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको आइतबार साँझ भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तारबारे सहमति भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
आज हुने विस्तारमा एमालेका थप ७ र माओवादीका ७ मन्त्रीसहित थपिने संभावना छ।

माओवादीका एक नेताका अनुसार माओवादीले गृहसहित ७ मन्त्रालय पाएको छ। माओवादीका भागमा गृह, जलस्रोत तथा उर्जा, श्रम रोजगार महिला तथा सामाजिक सुरक्षा, कृषि तथा सहकारी, उद्योग वाणिज्य र आपूर्ति, सहरी विकास र वन तथा वातावरण मन्त्रालय परेका छन्।

ती मन्त्रालयमा माओवादीले रामबहादुर थापा ‘बादल’ नेतृत्वमा सात मन्त्री पठाउने भएको छ। थापासहित वर्षमान पुन, शक्तिबहादुर बस्नेत, मातृका यादव, गिरिराजमणि पोखरेल र बीना मगर मन्त्री बन्ने टु‌गो भएको छ। थप एक जनाको नाम टुंगो लाग्न बाँकी रहेको छ ।

अर्थ, परराष्ट्र, रक्षा, भौतिक पूर्वाधारलगायत ७ मन्त्रालयमा एमालेले पनि आजै मन्त्री पठाउने छ।

प्रधानमन्त्री ओली निकट एक नेताका अनुसार एमालेबाट ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई र रवीन्द्र अधिकारी रघुवीर महासेठ, हृदयश त्रिपाठी र नारदमुनि रानाको नाममा सहमति भएको छ।

नयाँ मन्त्रीको शपथका लागि सोमबार दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा समय मागिएको स्रोतले बतायो छ।

यसअघि एमालेबाट लालबाबु पण्डित र थममाया थापा मन्त्री भइसकेका छन्।

एमाले स्थायी समितिको शुक्रबार सम्पन्न बैठकले मन्त्री छान्ने जिम्मा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई दिएको थियो।

मन्त्रालयको भागबन्डा टुंगिए पनि माओवादी केन्द्रका नेताहरूले गृहबाहेक सबै महत्वपूर्ण मन्त्रालय एमालेको भागमा परेमा जनाएको असन्तुष्टि मत्थर भएको छैन ।

Share Now

Leave a comment.