काठमाडौं, २१ भाद्र । महाकाली नदी तर्न चढेका बेला भारततर्फ रहेका सीमा सुरक्षा बल(एसएसबी) का जवानहरुले तुइनको डोरी काटेर दार्चुलाको ब्यास गाउँपालिका जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटनामा सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ ।
गृह मन्त्रालयले सहसचिव जनार्दन गौतम नेतृत्वको छानविन समितिको प्रतिवेदन पठाएपछि परराष्ट्र मन्त्रालयले भारतलाई कूटनीतिक नोट पठाएको हो ।
गत १५ साउनमा दार्चुलाको ब्यास गाउँपालिकाको मालघाटबाट तुइन तरेर भारतीय भूमि हुँदै दार्चुला सदरमुकामबाट काठमाडौं आउन लागेका जयसिंह धामी महाकाली नदीको मध्यभागमाथि पुग्ने बेलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले तुइनको तार काटिदिँदा धामी महाकाली नदीमा खसेर वेपत्ता हुनुभएको थियो ।
घटनाबारे छानविन गर्न गृह मन्त्रालयले बनाएको समितिले सो घटना भएको तुईनका डोरी बाँधिएको भारततर्फको स्थानमा एसएसबीका जवानहरुको उपस्थिति भएको उल्लेख गरेको छ। साथै घटनाबारे थप अनुसन्धान गरी दोषीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सिफारिस गरेको छ ।
गृहद्धारा परराष्ट्रलाई पत्राचार
गौतम समितिको छानबिन प्रतिवेदन प्राप्त भएपछि यही भाद्र १७ गते गृह मन्त्रालयले जयसिंह धामीलाई महाकाली नदीमा खसाएर बेपत्ता बनाइएको घटनाको विरोध जनाउदै यसका थप छानबिन गरी दोषीउपर कारबाही गराउन र सीमा क्षेत्रमा यस्ता घट्ना दोहोरिन नदिन आवश्यक कूटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको थियो ।
उक्त घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको दोस्रो दिन नै मन्त्रालयले आवश्यक कूटनीतिक पहलका लागि परराष्ट्रमा पत्र पठाएको थियो ।
मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित समितिले भारतीय सीमा सुरक्षा बल (एसएसबी) कै उपस्थितिमा दार्चुलाको व्यास गाउँपालिका–२ खाङ्दाङ्का जयसिंह धामी मालघाटबाट तुइन तर्ने क्रममा तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएको प्रतिवेदन भाद्र १६ गते मङ्गलबार गृहमा बुझाएको थियो ।
उक्त घटना भारतीय सीमा सुरक्षा बल (एसएसबी)का सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । मन्त्रालयका अनुसार समितिले घटनाको अनुसन्धान गरी दोषी उपर कानुनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने सन्दर्भमा भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न सिफारिस गरेको थियो ।
“सोही प्रतिवेदनका आधारमा परराष्ट्रलाई कूटनीतिक पहलका लागि अनुरोध गरिएको छ”, गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताउनुभएको थियो ।
प्रतिवेदनमा आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको उचित व्यवस्थापन गर्न सिफारिससमेत गरिएको छ ।
सरकारले पीडित धामीको परिवारलाई १० लाख रुपैया आर्थिक सहयोग गर्ने निर्णय समेत गरिसकेको छ ।
छानबिन समितिबाट मङ्गलबार प्रतिवेदन बुझ्दै गृहमन्त्री बालकृष्ण खाँणले त्यसको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको आश्वासन दिनुभएको थियो । उहाँले प्रतिवेदन तत्कालै कार्यान्वयनको प्रक्रिया थाल्न गृहसचिव टेकनारायण पाण्डेलाई निर्देशन दिनुभएको थियो ।
उक्त घटनाको अध्ययनका लागि मन्त्रालयले गत साउन १७ गते सहसचिव जनार्दन गौतमको संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सदस्य रहेको समिति गठन गरेको थियो ।
गत साउन १७ गते गठित उक्त समितिलाई मन्त्रालयले १० दिनको कार्यादेश दिए पनि छानबिन नसकिएकाले समितिको म्याद भदौ १ र ८ तथा साउन २५ गते गरी तीन पटक थप गरेको थियो । साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका–२ स्थित तुइन तरेर भारत हुँदै जिल्ला सदरमुकाम खलङ्गा आउने क्रममा तुइनको लठ्ठासँगै खसेर धामी नदीमा बेपत्ता हुनुभएको थियो।
समितिले प्रतिवेदन बुझाएपछि भारतीय विदेश मन्त्रालयले भने छानविन समितिको प्रतिवेदन आन्तरिक भएको र यसबारे आफूहरुलाई जानकारी नभएको प्रतिक्रिया दिएको थियो ।


















