खुमलटार(ललितपुर), २५ भाद्र । नेपाल भ्रमणमा आउनुभएकी अमेरिकी सहयोग परियोजना एमसीसीकी उपाध्यक्ष फतिमा सुमारलाई सत्तारुढ दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमति बनाएर एमसीसी संझोता पारित गर्न उपयुक्त हुने सुझाव दिनुभएको छ ।
शुक्रबार बिहान सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट्न खुमलटार पुग्नुभएकी एमसीसीकी उपाध्यक्ष सुमरलाई उहाँले सो सुझाव दिनुभएको हो ।
भेटमा एमसीसी संझौता यसका प्रावधान र यस अन्तरगतका परियोजनाले नेपालको आर्थिक तथा सामाजिक विकासमा पुर्याउने योगदानको बारेमा छलफल भएको थियो।
सुमारसँग प्रचण्डले एमसीसी नेपालमा राष्ट्रिय बहसको विषय बनिसकेकाले राष्ट्रिय सहमति बनाएरमात्रै यसलाई पारित गर्नु पर्ने आफ्नो पार्टीको धारणा रहेको बताउनुभएको थियो।
‘राष्ट्रिय बहस भएको कुरामा राष्ट्रिय सहमति बनाउनु पर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै उहाँका प्रेस संयोजक बिष्णु सापकोटा ‘जुगल’ले भन्नुभयो,‘सत्तारूढ गठबन्धनका दलहरूबीच पनि यसबारे सहमति बनाउनु पर्छ।’
माओवादी केन्द्रभित्र एमसीसी पारित गर्नै नहुने र संशोधन गरेर पारित गरे पनि हुने दुई धार छ।
नेकपा माओवादी सम्मिलित वर्तमान सरकार अर्थ मन्त्री जनार्दन शर्र्माले यस संझौताका अस्पष्ट कुराहरु स्पष्ट गरिदिन ११ बूँदे प्रश्न पठाएपछि एमसीसीले बुधबार ती सबैको स्पष्टीकरण दिइसकेको छ ।
यो संझौताका विषयमा नेकपा माओवादी केन्द्र समेत एकीकृत भएको नेकपामा रहदा गठन गरिएको ३ सदस्यीय अध्ययन समितिले यो संझौता अमेरिकाको इण्डो प्यासेफिक रणनीति अन्तरगत भएकोले यस संग जोडेर नेपालमा अमेरिकी सैन्य आउने सक्ने जोखिम रहेको, नेपालको संविधानमाथि राख्न खोजिएको, यसले नेपालको सार्वभौम अधिकारलाई संकुचित पार्न खोजेको, नेपालले लेखा परीक्षण गर्न नपाउने, कर्मचारीलाई कुटनीतिक उन्मुक्ति दिइएको जस्ता विषयमा संशय रहेकोले यथावत पारित गर्न नहुने सुझाव दिएको थियो ।
तर एमसीसीले बुधबार पठाएको पत्रमा यो संझौता अन्तरगत सैन्यको कुरा उठाउन नसकिने, नेपालको संविधानको सर्वोच्चता यथावत रहेको, नेपालको महालेखाले यस संझौता अन्तरगतको परियोजना सञ्चालन गर्न नेपालमा स्थापना गरिएको मिलिनियम च्यालेञ्ज एकाउण्टको लेखापरीक्षण गर्न पाउने, यो संझौताका कुनै पनि बुँदाहरु नेपालका कानूनसंग नबाझिएको र कू भएमा भ्रष्टाचार भएमा वा यस संझौत विपरितका कार्यमा यसको सहयोग खर्च गरेको पाइएमा बाहेक यो संझौता अन्तरगतको रकमको साँबा र ब्याज तिर्न नपर्ने खुलस्त पारिएको छ ।
हिजो नै नेपाल अवतरण गर्नुभएकी सुमारले बिहीबार प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवलाई भेटेकी भेट्नुभएको थियो
सुमारले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ।


















