Prakash Adhikari September 10, 2021

काठमाडौं, २५ भाद्र । आज सरकारले प्रतिनिधिसभामा पूर्ववर्ती सरकारले ल्याएको अध्यादेशीय बजेटलाई प्रतिस्थापन गर्ने प्रतिस्थापन बजेट र आर्थिक अध्यादेश पेश गरेको छ ।

नेकपा एमालेले कारबाही सिफारीस गरेका सांसदहरुलाई सभामुखले समयमा सूचना जारी गरेर नहटाएकोले नयाँ दल दर्ता भएको आरोप लगाउदै त्यस्ता सांसद उपस्थित भए संसद चल्न नदिने रणनीति अख्तियार गरेको एमालेका सांसदहरुको निरन्तर अवरोधका बीच अर्थमन्त्री जनार्दन शर्मा दौडिएर प्रतिनिधिसभाको रोष्टममा पुग्नुभयो र एमालेले ल्याएको अध्यादेशीय बजेटको प्रतिस्थापन विधेयकहरु पेश गर्नुभएको हो ।

प्रतिनिधिसभाको शुक्रबारको पहिलो बैठक एमाले सांसदहरुको नाराबाजीका कारण स्थगित भएको थियो।

दोस्रो बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसदको कारबाही अगाडि बढाउनुभयो । उहाँले नेपाल मजदुर किसान पार्टी (नेमकिपा०का सांसद प्रेम सुवाललाई अध्यादेश अस्वीकारको प्रस्ताव पेश गर्न समय दिनुभयो ।

उहाँले भने प्रतिपक्षको नाराबाजीका बीच विरोधको सूचना पेश नगर्ने बताउनु भएपछि लगत्तै सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश पेश गर्न समय दिनुभयो ।

नाराबाजी गरिरहेका एमाले सांसदहरुले अर्थमन्त्रीको बाटो छेक्न खोजेका थिए । उहाँ दौडिएर रोष्टममा पुग्नुभयो। र, प्रमुख प्रतिपक्षीको नाराबाजीका बीच अध्यादेश पेश गरे ।

राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रियसभामा

राष्ट्रियसभाको आजको बैठकमानेकपा (एमाले)का सांसदको बिरोधकाबीच राजनीतिकदलसम्बन्धी (दोसंो संशोधन) अध्यादेश, २०७८ पेश भएको छ ।

विरोधकाबीच अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गृहमन्त्री बालकृष्ण खाँणलाई अध्यादेश पेश गर्न समय दिनुभएको थियो । यसअघि अध्यक्ष तिमल्सिनाले आजको बैठकको कार्यवाही सुरु गर्ने वित्तिकै नेकपा एमालेका सांसदले उठेर विरोध जनाएका थिए । अध्यक्ष तिमल्सिनाले एमाले सांसद देवेन्द्र दाहाललाई समय दिनुभएको थियो ।

सभामुख र निर्वाचनआयोगसँगमिलेर नेकपा एमालेलाई कमजोर बनाउने, टुक्र्याउने षड्यन्त्रमा लागेको आरोप सांसद दाहालले लगाउनुभयो । पार्टीले कारवाही गरेका १४ जनालाई सांसदको मान्यता दिन नहुने पूर्व माग आज पनि बैठकमा एमाले सांसदले राखेका थिए ।

अध्यक्ष तिमल्सिनाले आफ्नो भनाइमार्फत् सदन र आम नेपालीको ध्यानाकर्षण गराउनुभएकाले बसेर सदनचलाउने वातावरण बनाइदिनुहुन आग्रह गर्नुभएको थियो । अध्यक्षको आग्रह सांसदले नमानेपछि विरोधकाबीच अध्यादेश पेश भएको हो ।

विरोधकाबीच बैठकले संविधानसभा सदस्यद्वय जुठबहादुर खड्गी (जेबी टुहुरे( र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव पारित गरेको थियो । सभाको अर्को बैठक भदौ २८ गते सोमबार १ बजे बस्ने भएको छ ।

Share Now

Leave a comment.