Prakash Adhikari September 10, 2021

मस्कट(ओमान), २५ भाद्र । ओमान भ्रमण अन्तर्गत पपुवा न्यु गिनी बिरुद्ध दोश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले पपुवा न्यु गिनीलाई १ सय ५१ रनको विशाल अन्तरले पराजित गरेको छ ।

टस जितेर ब्याटिड. रोजेको नेपालले दिएको २ सय ३४ रनको लक्ष्य पपुुवा न्युगिनीले हासिल गर्न सकेन । उसले निर्धारित ५० ओभरको खेल २० औं ओभरको पहिलो बलसंगै अल आउट हुँदै ८२ रन जोडेर टुंग्याएको थियो ।

खेलमा पीएनजीका लागि टोनी उराले १९ चाल्र्स अमिनीले १६,नर्मन भानुवाले १२,सेसे बौ ११, गौडी टोका १०,लेगा सैका र किप्लिड. डोग्राले ४ । ४, क्याप्टेन असल भाला र कविता मौर्यले एकएक रन जोडेका थिए ।

दोस्रो इनिड.को बलिड.मा नेपालका सन्दीप लामिछानेले ६ विकेट लिए भने सोमपाल कामी, सुशन भारी र बिक्रम शोवले एक एक विकेट लिए ।

बलिड.मा चम्के रोहित

खेलमा टस जितेर ब्याटिड. रोजेको नेपालले निर्धारित ५० विकेटको खेलमा ५० औं ओभरको तेस्रो बल खेल्दै २ सय ३३ रन जोडेको थियो ।
ओमानको अल अमिरात मैदानमा भएको डे नाइट एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालको लागि रोहित पौडेलले १ सय २३ बलमा २ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ८६ रन बनाए । त्यस्तै करण के.सी.ले २६ बलमा २ चौका र ४ छक्का मद्दतले ४२ रन बनाए। कप्तान ज्ञानेन्द्र मल्लले ७० बलमा ३ चौका र २ छक्का मद्दतले ४५ रन तथा सोमपाल कामीले ११ रन बनाए।

खेलमा बढी आशा गरिएका कुशल भूर्तेल र आशिफ शेख ३ रनमा आउट भएका थिए भने विक्रम शोब र कुशल मल्लले एक एक रन मात्र जोड्न सकेका थिए ।

पपुवा न्यु गिनीको बलिंगमा चाड सोपरले ३ विकेट तथा कबुवा मोरिया र नोर्मन भानुवाले समान २ विकेट लिए भने चार्ल्स अमिनीले १ विकेट लिए।

पपुवा न्यु गिनीसंग पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको थियो।

पपुवा न्युगिनीसंगको एक दिवसीय अन्तर्राष्ट्रिय श्रृखाला पछि नेपालले विश्वकप लिग २ अन्तर्गत सेप्टेम्बर १३ देखि ओमान र अमेरिकासंग त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ।

Share Now

Leave a comment.