Prakash Adhikari September 11, 2021

 

काठमाडौं, २६ भाद्र । नेपाली कांग्रेसका संस्थापक नेता, २००७ सालको जनक्रान्तिका कमाण्डर, नेपालका पहिलो अर्थमन्त्री, २०१५ सालको मन्त्रिपरिषद्का अध्यक्ष तथा बी.पी.कोइरालाको प्रथम जननिर्वाचित सरकारका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री सुवर्ण समशेरका कनिष्ट सुपुत्र तथा पूर्वसांसद, पूर्वराजदूत एवम् नेपाल ओलम्पिक कमिटीका पूर्वअध्यक्ष रुक्म समशेर राणाको निधन भएको छ ।

उहाँको गए राति ८५ वर्षको उमेरमा आफ्नै निवास काठमाडौंको बत्तीसपुतलीमा निधन भएको हो ।

उहाँ मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित हुनुहुन्थ्यो ।

मिर्गौला प्रत्यारोपणपछि राणाको नियमित डायलायसिस हुँदै आएको थियो ।

नेपाली कांग्रेसका संस्थापक नेता सुवर्णशम्शेर राणाका कान्छा छोरा राणा कांग्रेस नेतृत्वको सरकारको पालामा सन् २००९ देखि सन् २०११ सम्म भारतका लागि नेपाली राजदूतसमेत हुनुहुन्थ्यो ।

राणाले राष्ट्रिय खेलकुद परिषद्को दुईपटक सदस्यसचिवका रूपमा भूमिका निर्वाह गर्नुभएको थियो । उहाँ पहिलोपटक २०५० देखि २०५१ सम्म तथा दोस्रोपटक २०५४ देखि २०५५ सम्म राखेपको सदस्यसचिव हुनुहुन्थ्यो ।

राणा २०५९ मा नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षसमेत बन्नुभएको थियो ।

राणाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यवाहक अध्यक्षका रूपमा समेत भूमिका निर्वाह गर्नुभएको थियो । उहाँ नेपाल तेक्वान्दो सङ्घ र नेपाल एथलेटिक्स सङ्घको समेत अध्यक्ष बन्नुभएको थियो ।

उहाँको निधनमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले सामाजिक सञ्जालमा श्रद्धाञ्जली प्रकट गरिरहनुभएको छ ।

उहाँको निधनको दुःखद घडीमा नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले एक शोक सन्देश दिंदै उहाँको दिवंगत आत्माको शान्तिको कामना गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।

अप्रत्यासित रुपमा परिवारमा आइपरेको यस बज्रपात सहन गर्ने शक्ति ईश्वरले प्रदान गरुन भन्दै उहाँले समस्त शोकाकूल परिवारजन र स्वजनहरुमा गहिरो समवेदना प्रकट गर्न भएको छ ।

“सुयोग्य पिताका सुयोग्य सुपुत्रको रुपमा रुक्म समशेर राणाले नेपालको लोकतान्त्रिक आन्दोलन,आर्थिक एवम् औद्योगिक विकास, कुटनीतिक क्षेत्र तथा खेलकूदको विकासमा पु¥याउनुभएको योगदान अतुलनीय एवम् अविश्मरणीय रहेको ” भन्दै आफ्नो शोक सन्देशमा सहमहामन्त्री डा.महतले भन्नुभएको छ ,”उहाँका योगदानले नेपाली समाज र नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई सधैभर प्रेरणा दिने मैले विश्वास लिएको छु ।”

सहमहामन्त्री डा. महतले रुक्म समशेरको निधनबाट नेपाली कांग्रेसलाई अपूरणीय क्षति हुन गएको र मुलुकले लोकतन्त्रप्रति प्रतिबद्ध, कुशल कुटनीतिज्ञ, नेपालको खेलकूद, औद्योगिक एवम् आर्थिक विकासमा समर्पित असल व्यक्तित्व गुमाएको उल्लेख गर्नुभएको छ ।

उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गर्न नेपाली कांग्रे्सका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्धय डा.शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महतसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरु राणाको बत्तिसपुतलीस्थित निवासमा पुग्नुभएको थियो ।

दिवंगत राणाको आजै आर्यघाटमा विधिपूर्वक अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ ।

Share Now

Leave a comment.