Prakash Adhikari September 22, 2021

काठमाडौं, ६ असोज । छिमेकी मित्रराष्ट्र भारतले अक्टोबर महिनाबाट कोभिड विरुद्धका खोप अन्य देशमा निर्यात गर्न फेरि सुरु गर्ने त्यहाँका स्वास्थ्यमन्त्रीले बताउनुभएको छ।

देशभित्रै कोरोनाभाइरसको महामारी व्यापक फैलिएपछि भारतले गत एप्रिल महिनामा खोप निर्यात रोकेको थियो।

विश्वकै सबभन्दा ठूलो खोप निर्मातामध्ये पर्ने भारतले कोभिड खोप निकासीमा रोक लगाएपछि छिमेकी नेपाल लगायत विश्वभरि नै खासगरि विकासोन्मुख देशहरूलाई असर परेको थियो।

अब उक्त रोक खुला गर्ने पछिल्लो घोषणा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको ठीक अगाडि आएको छ।

वाशिङ्गटनमा मोदीले अमेरिका, जापान, तथा अस्ट्रेलिया सहितको ूक्वाडू समूहका देशका नेताहरूको सम्मेलनमा भाग लिँदै हुनुहुन्छ।

अधिकारीहरूका अनुसार सो सम्मेलनमा पनि खोप निकासी बारे कुराकानी हुनेछन्।

भारतीय स्वास्थ्य मन्त्री मनसुख मांडवियाका अनुसार अक्टोबरमा भारतकै निम्ति त्यहाँका खोप निर्माताहरूले करिब ३० करोड मात्रा खोप उत्पादन गर्ने ठानिएको छ।

निर्यात
त्योभन्दा बढी उत्पादन भएका खोप निकासी गरिने उहाँले बताउनुभयो।

सोमवार बोल्दै उहाँले अब भारतले विश्वलाई मद्दत गर्ने र कोभ्याक्स अन्तर्गतको जिम्मेदारी बहन गर्ने बताउनुभयो।

सेप्टेम्बरमा महिना भारतका निर्माताहरूले २६ करोड मात्रा खोप उत्पादन गर्ने ठानिएको छ।

भारतको सिरम इन्स्टिच्युटले उत्पादन गर्ने कोभिशिल्ड खोप ९२ वटा न्यून आय भएका मुलुकहरूमा कोभ्याक्समार्फत वितरण गरिने बताइएको छ।

भारत सन् २०२१ को अन्त्यसम्ममा आफ्ना सबै वयस्क जनसङ्ख्यालाई खोप लगाइसक्न चाहन्छ।

जनवरी यता उसले झन्डै ८२ करोड मात्रा खोप लगाइसकेको छ।

गत शुक्रवार एकैदिन भारतले २ करोड भन्दा धेरै मात्रा खोप लगाएर कीर्तिमान राखेको थियो।

एप्रिल महिनामा उसले निकासीमा रोक लगाउनु पूर्व भारतले करिब ६ करोड मात्रा कोभिड खोप विभिन्न देशलाई उपलब्ध गराएको थियो।

भारतले कोभिड खोप निकासीमा लिएको खुकुलो पनले नेपाललाई पनि सहयोग पुग्ने विश्वास गरिएको छ । भारतले हठात निर्यात रोकेकोले पैसा तिरेर पनि नेपालले १० लाख मात्रा खोप ल्याउन पाएको छैन ।

भारतले निर्यात खुला गरेपछि नेपालले कोभ्याक्समार्फत पाउने अनुदानको खोप पनि सहज रुपमा आपूर्ति हुने विश्वास गरिएको छ ।

यसले खोप लगाउने उमेर समूहका सबैलाई खोप पुर्याउने सरकारको लक्ष्य हासिल गर्न धेरै ने सहयोग पुग्ने बताइएको छ । (बीबीसी)

 

Share Now

Leave a comment.