कीर्तिपुर(काठमाडौं), १४ असोज । एभरेष्ट प्रिमियर लिग टी २० अन्तर्गत बिहिबारको पहिलो खेलमा सोमपाल कामी कप्तानीको चितवन टाइगर्सले सन्दीप लामिछाने कप्तानीको काठमाडौँ किंग्स् ११ लाई ३ विकेटले पराजित गरेको छ।
पहिलो खेलमा बिराटनगर वारियर्सलाई पराजित गरेको चितवनको यो दोश्रो जित हो।
त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौँ किंग्स् ११ ले दिएको १ सय ४२ रनको लक्ष्य चितवन टाइगर्सले ७ विकेट गुमाएर १८४ ओभरमा हासिल गर्यो। उसको लागि राजेश पुलामीले सर्वाधिक अविजित २६ रन, कमल ऐरी र दिलिप नाथले समान २३ ।२३ रन, मोहम्मद शहजादले १७ रन बनाए।
काठमाडौँ किंग्स् ११ को बलिंगमा जितेन्द्र मुखिया र रायन बर्लले समान २ ।२ विकेट लिए भने जनक प्रकाश, सन्दिप लामिछाने र गुल्सन झाले समान १ । १ विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको काठमाडौँले निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा १ सय ४१ रन बनाएको थियो। काठमाडौँको लागि सुबाश खकुरेलले सर्वाधिक ३५ रन, राजु रिजालले २८ रन तथा जनक प्रकाशले २६ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
चितवनको बलिंगमा सागर ढकालले सर्वाधिक ४ विकेट लिए भने करिम जनतले २ विकेट तथा कमल सिंह ऐरी र सेक्कुगे प्रशन्नाले समान १। १ विकेट लिए।


















