काठमाडौं, १५ असोज । काठमाडौं जिल्ला प्रशासनले आजदेखि लागू हुने गरी अनावश्यक भीडभाड, सभा, सम्मेलन, जुलुस, जात्रा र महोत्सव नगर्न अनुरोध गरेको छ ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेको जनाउँदै अनावश्यक रुपमा मानिस घर बाहिर निस्कने, जम्मा हुने, भीड गर्ने, सभा, जुलुस र भीडभाड नगर्ने÷नगराउने आदेश जारी गरेको हो ।
ललितपुर उदार
जिल्लाभर भइरहेका सभासम्मेलन प्रभावित हुने गरी कुनै पनि आदेश जारी नभएको ललितपुर जिल्ला प्रसाशन कार्यालयले स्पष्ट पारेको छ ।
कार्यालयले गत भदौ ३१ गतेदेखि सार्वजनिक शान्ति सुरक्षा व्यवस्थामा असर नपर्नेगरी राजनीतिक दल, तिनका भातृ सङ्गठन तथा विभिन्न सङ्घसंस्थालाई सभासम्मेलन, बैठक, गोष्ठी, अन्तक्र्रियालगायत कार्यक्रम गर्न अनुमति दिएको थियो ।
कार्यालयका प्रवक्ता ललितकुमार बस्नेतले यस अघिका निर्णयमा कुनै पनि परिवर्तन नभएको राससलाई जानकारी दिनुभयो । उहाँले नेपाल सरकारले जारी गरेको कोभिड–१९ सम्बन्धी मापदण्डको पालना गर्दै कार्यक्रम गर्न पाउने व्यवस्था यथावत रहेको स्पष्ट पार्नुभयो ।
संविधान प्रदत्त नागरिकको मौलिक अधिकार र राजनीतिक गतिविधि गर्ने स्वतन्त्रताप्रति कार्यालय पूर्ण सचेत र प्रतिबद्ध रहेकोसमेत उहाँले जानकारी दिनुभयो ।


















