Prakash Adhikari October 3, 2021

 

काठमाडौं, १७ असोज । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले अक्टोबर १ देखि पेट्रोलियम पदार्थको मूल्य बढेको सूची जारी गरेपछि नेपाल आयल निगमको नोक्सानी थप बढ्ने देखिएको छ।

आइओसीबाट प्राप्त नयाँ मूल्यसूचीका आधारमा १५ दिनमा इन्धन बिक्रीबाट निगमलाई रु १ अर्ब ५० करोडभन्दा बढी नोक्सान हुने अवस्था आएको छ।

आइओसीले पठाएको नयाँ मूल्य र नेपालभित्र लाग्ने कर तथा अन्य विभिन्न लागत जोड्दा निगमलाई प्रतिलिटर पेट्रोलमा १३९‍।१८ रुपैयाँ, डिजेलमा १२०।०१ रुपैयाँ, मट्टितेलमा ९३।९४ रुपैयाँ, आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्धनमा ८४।०७ रुपैयाँ, बाह्य उडानमा प्रयोग हुने हवाई इन्धनमा ७६।४४ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर रु १९६१।८८ लागत पर्ने देखिएको छ।

निगमले पछिल्लो समय गत भदौ ७ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो। यसअनुसार प्रतिलिटर पेट्रोलको रु १३०, डिजेल र मट्टितेलको रु ११३, आन्तरिक हवाई इन्धनको रु ८६ र खाना पकाउने ग्यास प्रतिसिलिन्डर रु १४५० तोकिएको छ।

उल्लेखित मूल्यका आधारमा अहिले निगमलाई प्रतिलिटर पेट्रोलमा ९।१८ रुपैयाँ नोक्सान, डिजेलमा ७।०१ रुपैयाँ नोक्सान, मट्टितेलमा १९।५९ रुपैयाँ नाफा, आन्तरिक हवाई इन्धनमा १।९३ रुपैयाँ नाफा, बाह्य हवाई इन्धनमा १५।१० रुपैयाँ नाफा र खाना पकाउने ग्यास प्रतिसिलिन्डर ५११।८८ रुपैयाँ नोक्सान पर्ने अवस्था छ।

निगमलाई नाफा भएका मट्टितेल तथा हवाई इन्धनको माग तुलनात्मकरुपमा कम रहेको र नोक्सानीका अवस्थामा रहेको पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको माग अत्यधिक भएका कारण यही मूल्यमा बिक्री गर्दा निगमलाई १५ दिनमा मात्रै रु १ अर्ब ५० करोड ७३ लाख नोक्सान हुने प्रक्षेपण गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो।

बढ्दै नोक्सानी

प्रवक्ता उपाध्यायका अनुसार अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय फेरि मूल्य बढ्न थालेको छ। अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८० डलर प्रतिब्यारेलको हाराहारीमा पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै त्यसले निगमको घाटा वृद्धिमा भूमिका खेलेको छ। निगमले गत भदौ ७ गते पछिल्लोपटक मूल्य समायोजन गर्दा अन्तर्राष्ट्रिय बजारको मूल्य केही घटेको थियो।

अन्तर्राष्ट्रिय बजार मूल्य घटे पनि निगमको लागत मूल्यभन्दा कम नभएपछि निगमले मूल्य बढाएको थियो।

अन्तर्राष्ट्रिय बजारमा घट्दा पनि नेपाली बजारको मूल्य बढेको भन्दै त्यतिबेला निगमको आलोचना भएको थियो। यद्यपि त्यो समायोजनले निगमको नोक्सान पाक्षिक रु ८४ करोडको हाराहारीमा झारेको थियो। तर, आइओसीले त्यसपछि दुई पटक मूल्य बढाएर मूल्यसूची पठाएको छ।

सेप्टेम्बर १ तारिख र अक्टोबर १ तारिखका दिन पठाएको मूल्यसूचीका आधारमा सबै प्रकारका इन्धनको मूल्य बढेको छ। सबैभन्दा बढी मूल्यवृद्धि डिजेलमा भएको छ। डिजेलमा प्रतिलिटर ७।१४ रुपैयाँ मूल्य बढ्दा हवाई इन्धनमा प्रतिलिटर ६।९७ रुपैयाँ, पेट्रोलमा ४।०९ रुपैयाँ र मट्टितेलमा ३।५६ रुपैयाँ मूल्य बढेर आएको छ। एलपी ग्यासको मूल्य प्रति सिलिन्डर १५।६९ रुपैयाँले बढेको निगमले जनाएको छ।

सेप्टेम्बर १६ तारिखका दिन प्राप्त भएको मूल्यसूचीमा सेप्टेम्बर १ तारिखको भन्दा मूल्य बढेर आएको थियो। त्यो मूल्यका आधारमा निगमले १५ दिनमा रु १ अर्ब ५ करोड नोक्सानीको प्रक्षेपण गरेको थियो। यद्यपि त्यसपटक निगमले मूल्य समायोजन गरेन। अहिले बढेर आएको मूल्यका आधारमा निगमको नोक्सान बढेर रु १ अर्ब ५० करोड नाघेको छ।

निगमका प्रवक्ता उपाध्याय निरन्तरको नोक्सानीले निगमको वित्तीय अवस्था धरासायी बन्दै गएको बताउनुहुन्छ। ‘अन्तर्राष्ट्रिय मूल्य र आन्तरिक कर तथा लागतले निगमको लागत मूल्य बढ्दै गएको छ, तर मूल्य लागत मूल्यभन्दा कम मूल्यमा इन्धन बेच्नुपर्दा नोक्सानी बढ्दै गएको छ’, प्रवक्ता उपाध्यायले भन्नुभयो, ‘यसरी नोक्सानी बढ्दै जाँदा निगम वित्तीयरुपमा धरासायी हुँदै जान्छ, त्यसैले पनि निगम मूल्य समायोजन गर्नैपर्ने बाध्यतामा छ।’

 

Share Now

Leave a comment.