Prakash Adhikari October 3, 2021

कीर्तिपुर(काठमाडौं), १७ असोज । एभरेष्ट प्रिमियर लिग टी २० अन्तरगत आज भएको दोस्रो खेलमा चितवन टाइगर्सले ललितपुर प्याट्रियोट्सलाई ५ विकेटले पराजित गर्दै लगातार चौंथो जित दर्ता गरेको छ।

यो जितसंगै चितवन टाइगर्सले एकखेल बाँकी रहदै प्लेअफको यात्रा सुनिश्चित गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा ललितपुर पेट्रिएट्सले दिएको १ सय ९ रनको लक्ष्य चितवन टाइगर्सले १६ बल बाँकी रहदै १७.२ ओभरमा ५ विकेटको क्षतिमा १ सय १२ रन जुटाएर पूरा गर्यो ।

चितवनको ब्याटिंगमा मोहम्मद शहजादले ३५ रन, भीम सार्कीले २७ रन, दीलिप नाथले १६ रन, भिरनदीप सिंहले १३ रन तथा राजेश पुलामीले अविजित ६ रन बनाए।

ललितपुरको बलिंगमा अज्मतुल्लाह ओमरजाई र रिजन ढकालले समान २ । २ विकेट तथा योगेन्द्र सिंह कार्कीले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट क्षतिमा १ सय ८ रन बनाएको थियो।
ललितपुरको लागि जयकिशन कोल्सवालाले ४२ रन, सन्दुन विराक्कोडीले १४, सूर्य तामाड.ले अविजित ११ तथा ललित राजबंशीले अविजित ९ रन बनाएका थिए।

चितवनको बलिंगमा प्लेयर अफ द म्याच चुनिएका दायाँ हाते बलर कमल सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए भने करिम जनत र सागर ढकालले समान २ ।२ विकेट तथा शाहब आलमले १ विकेट लिए।

लगातार चौंथो जितपछि चितवन टाइगर्स लिग अंकतालिकामा ८ अंक सहित शीर्ष स्थानमा पुगेको छ। चितवनले पहिलो क्वालीफायर खेल्ने पक्का भएको छ। हार पछि ५ खेलमा मात्र १ जित हात परेको ललितपुर ३ अंक सहित चौंथो स्थानमा छ। ललितपुर प्लेअफ पुग्न अब पाँचौ स्थानमा रहेको काठमाडौँ किंग्स ११ ले सबै खेलमा हार्नुपर्नेछ। तर त्यस्तो संभावना कम छ । त्यसैले ललितपुर पनि प्लेअफ पुग्न असमर्थ हुनसक्ने जोखिम बढ्दो छ ।

 

Share Now

Leave a comment.