Prakash Adhikari October 19, 2021
महेन्द्रनगर, २ कात्तिक (रासस) । नेपाली सेनाले कञ्चनपुरको भीमदत्तनगरपालिका–९ मसेट्टीका दुई बालबालिकासहित पाँच जनाको महाकाली नदीबाट २२ घण्टापछि सकुशल उद्धार गरेको छ ।
 
लगातारको वर्षापछि महाकाली नदीमा आएको बाढीले मसेट्टीका लक्ष्मण नायक उहाँकी श्रीमती शान्ति, दुई छोरा र स्थानीय दीर्घमती देवी खड्कालाई हेलिक्टरमार्फत उद्धार गरेको हो । सोमबार साँझदेखि महाकाली बस्तीमा उर्लिएपछि कुखुरा र गाउँ गोठको रेखदेख गर्न गएका उनीहरु बाढी आएपछि त्यही फसेका हुन् । मङ्गलबार बिहानैबाट सेनाको टोली उद्धारका लागि त्यहाँ जान खोजे पनि प्रतिकूल मौसमका कारण उद्धारस्थल पुग्न सकेको थिएन ।
 
“स्थलमार्गबाट जान अन्य खहरे खोला र बाढीले जानसक्ने अवस्था नै थिएन्”, यहाँस्थित श्रीदल गुल्मका गुल्मपति सेनानी भीष्म केसीले भन्नुभयो, “स्थलमार्गबाट गएर त्यहाँ उद्धार सम्भव नभएपछि सुर्खेतबाट हेलिकप्टर बोलाइएको हो ।”
मङ्गलबार दिउँसो यहाँस्थित श्री नं २५ बाहिनी अड्डा पुगेको हेलिकप्टरले मसेटट्ी पुगेर तीन चरणमा फसेकाको उद्धार गर्दै गाउँको जिम्मा लगाएर फर्किएको छ । “फसेका स्थानीयलाई उद्धार गर्न चारैतिर रुख हुँदा केही कठिनाई भए पनि सकुशल उद्धार गर्न सक्यौँ”, उद्धारको नेतृत्व गरेका पाइलट प्रमुख सेनानी रचन श्रेष्ठले भन्नुभयो, “उद्धारमा हाम्रो तालीम प्राप्त टिम पनि सक्रिय रह्यो ।”
 
‘धन्य सेना आएर बचाए
 
सेनाले डोरीको सहायताबाट उद्धार गरेपछि खुसीले भक्कानिँदै स्थानीय शान्ति नायकले आफूहरुले दोस्रो जीवन पाएको बताउनुभयो ।
“रातभरि बगेर आएको रुखको सहरामा बस्यौँ”, उहाँले भन्नुभयो, “बाँचिएला भन्ने आश मरिसकेको थियो ।” उहाँले आफ्नो परिवार लामो समयदेखि कुखुरापालन र कृषि कार्य गर्दै आएको बताउनुभयो ।
 
करिब ४५ देखि ५० परिवार रहेको मसेटट्ीमा बाढीको त्रासदीपछि सोमबार राति कसैको पनि घरमा चुल्हो नबलेको स्थानीय हरिस साउँदले बताउनुभयो । उहाँले बाढीले एक दर्जन घरसमेत महाकालीले बगाएको बताउनुभयो ।
 
स्थानीयले राति नायक परिवार थुनिएको थाहापाएलगत्तै स्थानीय प्रशासनमा खबर गरेको साउँदको भनाइ थियो । आज दिउँसो पछि त टेलिफोन र बिजुलीसितको पनि सम्बन्ध विच्छेद हुँदा झन् तनाव भयो ।” स्थानीय गोमती धामीले भन्नुभयो, “हेलिकप्टर आएको देखेपछि खुसीको सीमा रहेन ।” उहाँले गाउँलेको जीवन बचाउन सहयोग गरेकोप्रति सेनाको टोलीलाई धन्यवाद दिनुभयो ।
 
सेनाले मसेट्टीको साँघुरो खेतमा हेलिकप्टर ल्याण्ड गरेर उद्धार थालेको थियो । पहिलो चरणमा सेनाले उद्धार गरेकी दीर्घमती देवी खड्काले सेना उद्धारका लागि आएको देख्दा भगवान् आएको अनुभूति भएको बताउनुभयो ।
 
“रातभर भगवान्को नाम जपेर बस्यौँ”, उहाँले भन्नुभयो, “जिन्दगी यत्ति हो भन्ने लागेको थियो, धन्य सेना आएर बचाए ।” उहाँले आफूहरु महाकालीमा थुनिएको पीडा शब्दले व्यक्त गर्न नसक्ने बताउनुभयो । महाकाली नदीमा दशकौँयता सबैभन्दा ठूलो बाढी आएको थियो । आज दिउँसो नदीमा पाँच लाख ४७ हजार क्युसेक पानी मापन गरिएको थियो । अहिले पानी घट्ने क्रममा छ । महाकालीमा आएको बाढीका कारण तटीय क्षेत्रमा डुबान पर्नुका साथै जोखिम बढेको छ ।
Share Now

Leave a comment.