काठमाडौं, ३ कार्तिक । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आज (बुघबार) बिहान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग भेट गरी सोमबारदेखि निरन्तर परेको बर्षाको कारण सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका विभन्न जिल्लाहरुमा आएको बाढी, पहिरो तथा डुबानबाट पुगेको जनधन, पूर्वाधार,खेतिबालीको क्षति तथा बडादशैंको अवधिमा भएका सवारी दुर्घटनाहरुका विषयमा ध्यानाकर्षण गराउनुभएको छ ।
उहाँले तत्कालका यी काम सम्पन्न भएपछि पाकिसकेको धानबालीमा बर्षाले पुर्याएको क्षतिबारे यथार्थ विवरण संकलन गरी उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि प्रधानमन्त्रीसमक्ष निवेदन गर्नुभएको छ ।
यस कार्यमा स्थानीय सरकार र राजनीतिक दलका स्थानीय इकाईले पूर्ण सहयोग गर्नुपर्ने अवस्था उहाँले औल्याउनुभएको छ ।
सहमहामन्त्री डा. महतले उद्धार,राहत र पुनःस्थापना जस्ता मानवीय कार्यमा सिंगो नेपाली कांग्रेस पार्टी र भातृ तथा शुभेच्छुक संस्थाका संबन्धित क्षेत्रका सबै तहका पदाधिकारी तथा सदस्यहरु सक्रियतापूर्वक खट्ने विश्वास व्यक्त गर्नुभएको छ ।
भेटका अवसरमा सहमहामन्त्री डा. महतले प्रधानमन्त्री देउवालाई केही समय यता भएका सवारी दुर्घटनाका बारेमा पनि जानकारी गराउनुभएको थियो ।


















