काठमाडौं, ४ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो र डुबानबाट भएका क्षति निरीक्षण गर्न आज (बिहीबार) सुदूरपश्चिम प्रदेश प्रस्थान गर्नुभएको छ ।
मन्त्री र पूर्वमन्त्रीहरूका साथ प्रधानमन्त्री देउवा बिहीबार बिहान ८ बजेतिर काठमाडौंबाट हेलिकोप्टरमार्फत सुदूरपश्चिम प्रस्थान गर्नुभएको हो ।
टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, नेपाली कांग्रेसका नेतात्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर रहनुभएको छ ।
काठमाडौंबाट सुर्खेत हुँदै टोली डोटी जाने छ।
डोटीमा बाढीपहिरोबाट हुन गएको क्षतिको निरीक्षणपछि उक्त टोली बझाङ हुँदै बैतडीको ढुंगाड जाने बताइएको छ।
सो क्षेत्रमा सेती नदीको बाढीले सिंगो गाँउलाई असर पारेको छ ।
त्यहाँबाट प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुराको अमरगढी नगरपालिका र जोगबुढा नगरपालिका हुँदै टोली कञ्चनपुर जाने सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीको टोली कञ्चनपुरमा बाढीपहिरो र डुबानले पुर्याएको क्षतिको निरीक्षण गरेर बेलुकी सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा बास बस्ने कार्यतालिका छ।
कैलाली कांग्रेसले मौसम अनुकूल भए शुक्रबार प्रधानमन्त्री देउवाले कैलारी गाउँपालिका, भजनी नगरपालिका र टीकापुर नगरपालिकाको दक्षिणी भेगको निरीक्षण गर्ने जनाएको छ।
प्रधानमन्त्री देउवा शुक्रबार काठमाडौं फर्किनुहुनेछ।
अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी सुदूरपश्चिममा २८ जनाको मृत्यु भएको छ। २२ जना बेपत्ता छन्।


















