Prakash Adhikari October 21, 2021

 

काठमाडौं, ४ कार्तिक । सुदूरपश्चिमबाट सुरु भएको कार्तिके वर्षाले पूर्वी महाकालीदेखि मेचीसम्मका जिल्लामा जनधन,भौतिक संरचना र खेतिबालीमा ठूलो क्षति पुर्याएको छ ।

चार दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परेर बुधबार रातिसम्म ९२ जनाको मृत्यु भएको छ । २२ घाइते भएका छन् भने ३६ जना बेपत्ता छन् ।

सुदूरपश्चिमदेखि पूर्वसम्मका १७ जिल्लामा बाढीपहिरोले मानवीय क्षति निम्त्याएको छ । मंगलबारसम्म पश्चिमका जिल्ला बढी प्रभावित भएकामा बुधबार पूर्वमा बढी क्षति भएको छ । प्रदेश १ का ६ जिल्लामा मात्रै ५२ जनाको मृत्यु भएको छ ।

पाँचथरमा सबैभन्दा धेरै २४ जनाको मृत्यु भएको छ । आठ बेपत्ता छन् भने ६ जना घाइते छन् । उनीहरू सबै बुधबार पहिरोमा परेका हुन् । डोटीमा पहिरोमै पुरिएर ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । मंगलबार नौको मृत्यु भएकोमा बुधबार ६ जना थपिएका हुन् । पाँचजना घाइते छन् । त्यस्तै, इलाममा पहिरोमा परेर १३ को मृत्यु भएको छ । तीनजना बेपत्ता छन् भने दुईजना घाइते भएका छन् ।

बझाङ र हुम्लामा पहिरोमा परी सात–सातजनाको मृत्यु भएको छ । बझाङमा थप २१ बेपत्ता छन् । पहिरोमै परेर धनकुटामा ६ जनाको ज्यान गएको छ भने पाँच घाइते छन् । त्यस्तै, सुनसरीमा बाढीपहिरोमा पाँच र बैतडीमा पहिरोमा चारजनाको मृत्यु भएको छ । बैतडीमा दुईजना घाइते छन् ।

उदयपुर र डडेल्धुरामा दुई–दुईजनाको मृत्यु भएको छ । उदयपुरमा बाढीले बगाएको हो भने डडेल्धुरामा पहिरोमा परेका हुन् । डडेल्धुरामा अर्का एक घाइते छन् । मोरङ, भोजपुर, कपिलवस्तु, कैलाली, कालिकोट, प्युठान र सोलुखुम्बुमा बाढीपहिरोमा एक–एकजनाको ज्यान गएको छ । कालिकोटमा एकजना घाइते छन् । त्यस्तै, प्युठानमा दुई तथा कपिलवस्तु र जुम्लामा एक–एकजना बेपत्ता छन् ।

Share Now

Leave a comment.