दुसान्वे(ताजिकिस्तान), ६ कार्तिक । ताजिकिस्तान भ्रमणमा रहेको नेपाली यू -२३ राष्ट्रिय फुटबल टिम मैत्रीपूर्ण खेलमा इन्डोनेसियाको यू -२३ राष्ट्रिय टिमसँग ० -२ ले परनजित भएको छ ।
एएफसी यू -२३ एसियन कप छनोटका लागि ताजिकिस्तान भ्रमण रहेको नेपालले पहिलो हाफमा गोलरहित बराबरी खेलेको थियो ।
ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा भएको खेलमा इण्डोनेयशियाले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।
एएफसी यू -२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेलेको हो ।
छनोटमा समूह बी मा रहेको नेपालले इरान, ताजिकिस्तान र लेवनानसँग खेल्नेछ । नेपालले पहिलो खेल आगामी सोमबार अक्टोबर २५ मा इरानसँग खेल्नेछ ।
मुख्य प्रशिक्षक बालगोपाल महर्जनले राष्ट्रिय टिमका ६ खेलाडीलाई समावेश गर्दै २३ सदस्यीय टोली तयार पारेका छन् । त्यसबाहेक राष्ट्रिय टिमबाट खेलिसकेका अरु पाँच खेलाडी पनि टिममा छन् ।
टिममा राष्ट्रिय टिमको अनुभव भइसकेका करिब आधा खेलाडी रहेकोले पनि यस पटक छनोटमा नेपालले राम्रो गर्ने आशा प्रशिक्षकले राखेका छन् ।
छनोटमा कुल ११ समूह छ । त्यसमा हरेक समूहको शीर्ष टोली एएफसी यू-२३ एसियन कपमा छनोट हुनेछन् । यस्तै दोस्रो हुनेमध्ये उत्कृष्ट चार टोली पनि यू -२३ एसियन कपमा छनोट हुनेछन् ।


















