Prakash Adhikari October 24, 2021

मङ्गलबारे, ७ कात्तिक (रासस) । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितका लागि थप राहतको व्यवस्था गर्ने बताउनुभएको छ ।

इलाम र पाँचथरको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि पाँचथरको फाल्गुनन्द गाउँपालिकाको जलसिङ माविमा आयोजित कार्यक्रममा उहाँले चाँडै मन्त्रिपरिषद्को बैठक राखेर राहतसम्बन्धी थप निर्णय लिने बताउनुभएको हो ।

उहाँले सरकारले यसअघि नै मृतकका परिवारलाई रु दुई लाख राहत उपलब्ध गराउने निर्णय गरिसकेको स्मरण गर्दै सरकारले थप राहतको व्यवस्था गर्ने घोषणा गर्नुभएको हो । उहाँले भन्नुभयो, “पहिराले घर बनाउने ठाउँ नहुनेलाई जग्गा जमिन दिएर भए पनि घर बनाइदिने र घर भत्किएकालाई घर बनाउन मद्दत गर्छौं, हामीले स्थलगतरुपमा नै अध्ययन गरेका छौँ, भएको क्षति नोक्सानीको सरकारले मूल्याङ्कन गरेर क्याबिनेट बसेर निर्णय लिन्छौँ ।”

प्रधानमन्त्री देउवाले बेमौसममा परेको पानीले मेचीदेखि महाकालीसम्म ठूलो क्षति पु¥याएको जनाउँदै सरकार पीडितको साथमा रहेको बताउनुभयो । पहिरोपीडितलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हामी तपाईहरुको साथमा छाँै, त्यही भएर हामी आएका हाँै ।”

उहाँले बाढीपहिराबाट प्रभावित क्षेत्रका नागरिकलाई एकै ठाउँमा बसोबास गर्ने व्यवस्था मिलाउने वा नयाँ सहर बनाउने विषयमा समेत सोचिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल गाउँको देश हो, नेपालबाट गाउँ हटाउन सकिँदैन, धेरैलाई गाउँको माया छ गाउँ छाड्न सक्दैनन्, गाउँमा गर्न सकिने कुरा गाउँमा नै पु¥याउन सकिन्छ ।”

यसैगरी नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका उहाँले पार्टीको महाधिवेशन तोकिएकै मितिमा हुने बताउनुभयो । कांग्रेस कार्यकर्तालाई छुट्टै सम्बोधन गर्नुभएका देउवाले भन्नुभयो, “दुई चार दिन यताउता हुनु सामान्य कुरा हो, महाधिवेशन तोकिएकै मितिमा हुन्छ ।” देउवाले सहमतिमा नै नेतृत्व चयनको प्रयत्न गर्न कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो ।

“भरसक सहमतिमा नै गर्नुहोस्, सहमति नभए प्रतिष्पर्धा हुन्छ, हार्नेले जित्नेलाई सघाउने हो”, उहाँले भन्नुभयो । निरीक्षणका लागि सञ्चार तथा सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाललगायत सहभागी हुनुहुन्थ्यो ।

Share Now

Leave a comment.