Prakash Adhikari October 25, 2021

 

काठमाडौं, ८ कार्तिक । अमेरिकाबाट कोभिडको एक लाखभन्दा केही बढी मात्रा फाइजर खोप सोमवार नेपाल आइपुगेको छ।

सोमवार बिहान अमेरिकी राजदूतावासले पनि ट्वीट गर्दै एक लाख ६ सय २० मात्रा खोप नेपाल आइपुगेको उल्लेख गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उक्त खोप कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाबाट नेपालले प्राप्त गरेको हो।

हालसम्म विकास भएका कोभिड खोपमा भण्डारण र वितरणका हिसाबले सबैभन्दा चुनौतीपूर्ण भनिएको फाइजर खोप यस अघि खोप लगाउन छुटेका १२ वर्ष माथिका दीर्घरोगिहरूलाई उपलब्ध गराइने सरकारको भनाइ छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार फाइजर खोप नेपालभरिका २४ वटा अस्पतालमा खोप केन्द्र राखेर वितरण अभियान थालिनेछ।

खोपको दुवै मात्रा प्राप्ति सुनिश्चित गर्नका लागि उपलब्धमध्ये आधा खोप पहिलो चरणमा लगाइने र पहिलो मात्रा लगाएको २१ देखि २८ दिनको अन्तरालमा दोस्रो मात्रा उपलब्ध गराइनेछ।

खोप अभियान सुरु गर्नका लागि स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण गर्ने र खोपको ढुवानी व्यवस्थापन लगायतका कार्यहरू अगाडि बढाइएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभएको छ।

“सबै तयारी भइसकेको छ। बाह्र वर्षभन्दा माथि रहनुभएका जति पनि उमेर समूहमा कोही दीर्घरोगी हुनुहुन्छ, कोही पहिलो खोप लगाउन नमिलेर रहनुभएका व्यक्तिहरूलाई मात्रै लगाउँछौँ “,अधिकारीले भन्नुभयो, “बाह्रदेखि १८ वर्ष उमेर समूहका सन्दर्भमा पछि अरू खोप आएपछि मात्रै हामी निर्णय गर्छौँ। अहिलेलाई दीर्घरोगीहरूलाई मात्रै केन्द्रित गरेर व्यवस्थापन गर्दै जान्छौँ।”

खोप कार्यक्रम कहिलेबाट ?

जोन्सन एन्ड जोन्सनको खोप

नेपालमा अहिलेसम्म तीनथरी कोभिड खोप प्रयोग गरिएको थियो

अधिकारीहरूका अनुसार अहिले १२ देखि १८ वर्षका दीर्घरोगीहरूको सङ्ख्या अनुमान गरी त्यसकैको आधारमा फाइजर खोप वितरण गरिनेछ।

अठार वर्षमाथिका खोप लगाउन बाँकी दीर्घरोगिहरू खासै बाँकी नरहेका र केहीलाई मात्रै हालसम्म नेपालमा प्रयोगमा ल्याइएका खोप दिन नमिलेका कारण उक्त खोप दिने तयारी गरिएको उनीहरू बताउँछन्।

खोप ढुवानी र भण्डारण गर्न अन्य खोपका तुलनामा जटिल रहेकाले फाइजर खोप वितरण अस्पतालकेन्द्रित रहने बताइएको छ।

अहिले आइपुगेको फाइजर खोप अभियानबारे मन्त्रालयका सहप्रवक्ता अधिकारी भन्नुहुन्छ , “काठमाण्डू उपत्यकाभित्रका नौवटा अस्पताल र उपत्यका बाहिरका १५ वटा अस्पतालबाट खोप अभियान सुरु हुन्छ।”

खोप अभियान कार्तिकको अन्तिम साताबाट सुरु गर्ने तयारी भएको उहाँले बताउनुभयो।

खोप ढुवानी

खोप ढुवानी

माइनस ८० डिग्री सेल्सीअस तापमानमा भण्डारण गर्नुपर्ने भनिएको फाइजर खोप दुई देखि आठ डिग्रीमा राखेर छ घण्टाभित्र लगाइसक्नुपर्ने बताइएको छ।

प्रयोग नगरिएको खोपको भाएल भने नौ महिनासम्म माइनस ८० डिग्रीमा भण्डारण गर्न सकिने अधिकारीहरू बताउँछन्।

पछिल्लो तथ्याङ्कअनुसार नेपालमा ८६ लाखभन्दा बढीले कोभिड खोपको एक मात्रा प्राप्त गरेका छन् भने पूर्ण मात्रा प्राप्त गर्नेको सङ्ख्या ६६ लाखभन्दा केही बढी छ।

Share Now

Leave a comment.