Prakash Adhikari October 26, 2021

दुबाई(संयुक्त अरब इमिरेट्स), ९ कार्तिक । टी २० विश्वकप क्रिकेटको मंगलबार भएको पहिलो खेलमा दक्षिण अफ्रिकाले प्रतिस्पर्धी वेष्टइण्डिजलाई ८ विकेटले पराजित गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा वेष्टइण्डिजले दिएको १ सय ४४ रनको लक्ष्य दक्षिण अफ्रिकाले मात्र २ विकेट क्षतिमा १० बल बाँकी रहँदै पूरा गर्यो।

दक्षिण अफ्रिकाको लागि एडेन मारक्रमले ५१ रन बनाए भने रसि भान डर डुसेनले ४३, रेजा हेन्ड्रिक्सले ३९ र तेम्बा बभुमाले ४ रनको योगदान गरेका थिए।

दक्षिण अफ्रिकालाई रोक्ने क्रममा वेष्टइण्डिजका ओकिल हुस्सेनले एक विकेट लिए भने एक विकेट रन आउटमा वेष्टइण्डिजले लियो ।

यस अघि टस हारेर ब्याटिंग गरेको वेष्टण्डिजले २० ओभरमा ८ विकेटको क्षतिमा १सय ४३ रन बनाएको थियो। उसको लागि ओपनर इभिन लुइसले सर्वाधिक ५६ रन बनाए जुन क्रममा ३५ बलमा ३ चौका र ६ छक्का प्रहार गरे। काईरन पोलार्डले २६, लेन्डल सिमोन्सले १६, निकोलस पुरन र क्रिस गेलले समान १२ रन बनाए।

वेष्ट इण्डिजलाई रोक्ने क्रममा दक्षिण अफ्रिकाका द्धैन प्रिटोरिसले ३ , केशव महाराजले २ विकेट लिए भने कागिसो रबाडा र एनरिक् नोर्कियाले समान एक एक विकेट लिए।

दक्षिण अफ्रिका पहिलो खेलमा अस्ट्रेलियासंग ५ विकेटले पराजित भएको थियो भने पहिलो खेलमा इंग्ल्यान्डसंग पराजित भएको वेस्ट इण्डिजको यो लगातार दोश्रो हार हो।

दक्षिण अफ्रिकाले आगामी खेल अक्टोबर ३० तारिखमा श्रीलंकासंग खेल्नेछ।

वेस्टइण्डिजले अक्टोबर २९ तारिखमा बंगलादेशसंग खेल्नेछ।

Share Now

Leave a comment.