Prakash Adhikari October 27, 2021

हेटौडा(मकवानपुर), १० कार्तिक । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्री पदका प्रत्यासी राजेन्द्रप्रसाद पाण्डेले ५९ जना प्रदेशसभाका सदस्यको हस्ताक्षरसहित दाबी पत्र आजै साँझ बुझाउनुभएको छ ।

उहाँको समर्थनमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने चारवटा राजनीति दलले सर्मथनसहित हस्ताक्षर गरी दाबी पत्र बुझाइएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।

प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६९ को उपचार एकको खण्ड क बमोजिम नयाँ सरकार गठन गर्न कात्तिक ११ गते अपराह्न ३ बजेसम्म समयसीमा निर्धारण गर्नुभएअनुसार मुख्यमन्त्री पदका लागि प्रत्यासी पाण्डेले आजै दाबी पत्र दर्ता गराउनुभएको थियो ।

यसअघि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दिनुभएको राजीनामा आजै स्वीकृत भएपश्चात् प्रदेश प्रमुख शर्माले नयाँ सरकारको दाबी गर्न आह्वान गर्नुभएको थियो ।

बागमती प्रदेशको नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि कात्तिक ११ गते अपराह्न ३ बजेसम्मका लागि समयसीमा तोक्नुभएको छ । यसैले बहुमत सदस्यको दावी पेश भएपनि मुख्यमन्त्रीको नियुक्ति भने समयसीमा सकिएपछि मात्रै हुने बताइएको छ ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज दिनुभएको राजीनामा स्वीकृत भएलगत्तै प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि प्रदेश प्रमुख शर्माले बहुमत हस्ताक्षरसहितको दाबी गर्न आह्वान गर्नुभएको हो ।

उहाँले नेपालको संविधानको धारा १६९ को उपधारा १ को खण्ड क बमोजिम बहुमत प्राप्त गर्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री नियुक्तिको लागि दाबी गर्न आग्रह गर्नुभएको प्रदेशसभा सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिनुभयो ।

मुख्यमन्त्री शाक्यको राजीनामा

आजै अपरान्ह वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिनुभएको छ ।

उहाँले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष आज राजीनामा पेश गर्नुभएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।

यसअघि मुख्यमन्त्री शाक्यले प्रदेशसभाको बैठकमा आजै राजीनामा दिने घोषणा गर्नुभएको थियो ।

आज प्रदेशसभा बैठकमा आफ्ना धारणा राख्दै मुख्यमन्त्री शाक्यले राजीनामाको घोषणा गर्नुभएको हो ।

बैठकमा शाक्यले विगतमा आफूहरुले गरेको त्याग पद र प्रतिष्ठाका लागि मात्रै नभएको उल्लेख गर्नुभयो । यसअघि प्रदेशसभा संसदीय दलको कार्यालयमा नेकपा (एमाले) का प्रदेशसभा सदस्यहरुसँग मुख्यमन्त्री शाक्यले आफूले पदबाट राजीनामा दिने बताउनुभएको थियो ।

शाक्यले आजै पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शार्मा आलीसँग समेत सल्लाह गरेको र उहाँले विश्वासको मत नपाउने निश्चित भएको अवस्थामा राजीनामा दिएर मार्ग प्रशस्त गर्नु उचित हुने सल्लाह दिनुभएको भन्दै राजीनामा गर्ने निर्णय गर्नुभएको थियो ।

मुख्यमन्त्री शाक्यले पाँच दलीय गठवन्धनको सरकार गठन गर्नका लागि बाटो खुल्ला गरिदिन पनि आफूले राजीनामा दिन लागेको बताउनुभयो।

 

Share Now

Leave a comment.