जोर्जिना र्यानर्ड / बीबीसी न्यूज
ग्लास्गो(स्कटल्याण्ड), १६ कार्तिक । स्कटल्याण्डको ग्लास्गो शहरमा भएको जलवायु सम्मेलनमा विश्वका विभिन्न देशका १०० भन्दा बढी नेताहरूले सन् २०३० भित्र वनविनाश रोक्ने वाचा गर्न लागेका छन्।
ग्लास्गोमा आयोजित कोप २६ मा त्यसबारे एउटा महत्त्वपूर्ण सहमति गर्न लागिएको हो।
मासिँदै गरेको एमजन वर्षावन भएको ब्रजिलले पनि उक्त सहमतिमा हस्ताक्षर गर्नेछ।
उक्त सहमतिमा १९.२ अर्ब डलर सार्वजनिक तथा निजी कोष समाविष्ट हुनेछ।
यो कदमको स्वागत गर्दै विज्ञहरूले सन् २०१४ मा वनविनाश रोक्न गरिएको एउटा सहमति प्रभावकारी नभएको औँल्याएका छन्। त्यसैले वचनबद्धता पूरा गर्नुपर्नेमा उनीहरूको जोड छ।
रूख काट्दा जलवायु परिवर्तन हुन्छ किनभने त्यसो गर्दा पृथ्वीलाई तताउने कार्बन डाईअक्साइड ग्यास सोस्ने वनजङ्गल मासिन्छ।
आयोजकका रूपमा यूकेका प्रधानमन्त्री बोरिस जोनसनले मङ्गलवार कोप २६ मा सम्बोधन गर्दै पृथ्वीमा वन जोगाउन र फेरि बढाउन एउटा महत्त्वपूर्ण सहमतिू बारे बोल्ने हुनुभएको छ।
जलवायु परिवर्तन नियन्त्रणका लागि कोप २६ लाई निकै महत्त्वपूर्ण मानिएको छ।

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि कोप२६ मा सहभागी हुनुभएको छ
यो सहमतिमा विश्वभरि भएको वनक्षेत्रको ८५ प्रतिशत ओगट्ने क्यानडा, ब्रजिल, रुस, इन्डोनेशिया र डीआर कङ्गोले पनि हस्ताक्षर गर्नेछन्।
सहयोगको केही रकम मासिएको भूमि पुरानो अवस्थामा फर्काउन, डढेलोसँग सङ्घर्ष गर्न तथा स्थानीय आदिवासी समुदायलाई सघाउन खर्च हुनेछ।
अट्ठाइस राष्ट्रले खाद्यपदार्थ तथा पाम तेल, सोया र कोकोजस्ता अन्य कृषिजन्य वस्तुको व्यापारमा वनविनाश हटाउने वाचा गर्नेछन्।
ती वस्तु उत्पादन गर्नका लागि रूख काटेर पशुपालन वा खेती गर्दा वनविनाश हुने गरेको छ।
संसारभरिका ३० भन्दा बढी ठूला कम्पनीले वनविनाशलाई प्रश्रय दिने गतिविधिमा लगानी नगर्ने वाचा गर्नेछन्।
अनि १.५ अर्ब डलरजति रकम कङ्गो बेसिनमा अवस्थित विश्वको दोस्रो ठूलो उष्णप्रदेशीय वर्षावन संरक्षणका लागि छुट्ट्याइनेछ।
यूनिभर्सिटी कलेज लन्डनका प्राध्यापक जलवायु र वनसम्बन्धी विषयका विज्ञ साइमन लूइसले भन्नुभएको छ, “धेरै देशबाट वनविनाश अन्त्य गर्न राजनीतिक प्रतिबद्धता र त्यसका लागि उल्लेख्य आर्थिक सहयोग आउनु राम्रो समाचार हो।”
तर उहाँले न्यूयोर्कमा पनि त्यस्तै वाचा गरिएको भए पनि त्यो वनविनाशको गति रोक्न असफल भएको स्मरण गराउनुभयो।
उहाँका अनुसार यो नयाँ सहमतिले वर्षावनको भूमिमा उत्पादन हुने मासु आदिको बढ्दो माग तथा यूके र अमेरिकाजस्ता देशमा उच्च परिमाणमा मासु खपत हुने कुरालाई समाधान गरेको छैन।

इन्डोनेशिया
ब्रजिलको एमजन वर्षावनबारे एउटा प्रतिवेदनको सहलेखन गरेकी अर्की विज्ञ एना याङले भन्नुभएको छ, ूयो सहमतिमा धेरै राष्ट्र, धेरै पात्र र धेरै पैसा छ। तर राक्षस भित्र छ जसलाई हामीले अझै देख्नुपर्छ।ू
ूकोप२६ मा यो निकै महत्त्वपूर्ण कदम हो। यो भेला आकाङ्क्षाको तह बढाउन र वैश्विक तापमान वृद्धि १.५ डिग्री सेल्सिअसमुनि राख्ने प्रयासको सेरोफेरोमा छ। यो एउटा ठूलो मूलभूत अङ्ग हो,ू उहाँले भन्नुभयो।
एमजन क्षेत्रमा बस्ने आदिवासी समुदायका लागि काम गर्ने एउटा संस्थासँग सम्बद्ध अभियानकर्मी टुन्टिएक काटानले उक्त सहमतिको स्वागत गनुभएको छ।
बीबीसीसँग कुरा गर्दै उहाँले वनविनाश रोक्ने अग्रमोर्चामा स्थानीय आदिवासी समुदाय भएको बताउनुभयो।
उहाँ एक्वेडरको शुअर आदिवासी समुदायका सदस्य हुनुहुन्छ। आदिवासी समुदायले विश्वभरिको ८० प्रतिशत जैविक विविधता संरक्षण गरेको दाबी गर्दै उहाँले आफूहरूले विभिन्न खतरा र हिंसा खेप्नुपरेको बताउनुभयो।
“वर्षौँदेखि हामीले आफ्नो जीवनशैली जोगाएका छौँ र त्यसले पारिस्थितिक प्रणाली र वन जोगाएको छ। हामीबिना पैसा वा नीतिले मात्रै जलवायु परिवर्तन रोक्न सक्दैन”, उहाँले भन्नुभयो।
अहिले गर्न लागिएको सहमतिमा केही महत्त्वपूर्ण देशहरूले पनि हस्ताक्षर गर्नेछन्।
इन्डोनेशिया पाम तेलको सबैभन्दा ठूलो निर्यातकर्ता हो। श्याम्पूदेखि बिस्कुटसम्म प्रयोग हुने उक्त तेल उत्पादन गर्नका लागि वनविनाश भइरहेको छ अनि आदिवासी समुदायको वासस्थान मासिँदै गएको छ।
रुसमा अवस्थित विशाल वनहरूमा पृथ्वीमा भएका २० प्रतिशतभन्दा बढी रूख छन्। तिनले प्रत्येक वर्ष १.२ अर्ब टनभन्दा बढी कार्बन सोस्छन्।

वनविनाश
पृथ्वीको सबैभन्दा ठूलो वर्षावन एमजनमा गत वर्ष वनविनाश हुने गति १२ वर्षकै सर्वाधिक रह्यो।
ब्रजिल यो सहमतिमा सहभागी महत्त्वपूर्ण भएको याङको भनाइ छ।
रूखहरूले प्रत्येक वर्ष पृथ्वीभरि उत्सर्जन हुने झन्डै एकतिहाइ कार्बन डाईअक्साइड सोसिदिएर विश्व तात्ने क्रममा केही राहत दिन्छन्।
अहिले प्रत्येक मिनेट २७ वटा फुटबल मैदानको जति वनक्षेत्र मासिइरहेको छ।
मासिएको वनक्षेत्रबाट कार्बन डाईअक्साइड उत्सर्जन हुन सक्छ।
वैज्ञानिकहरू धेरै रूख मासिँदा पृथ्वीमा जलवायुसम्बन्धी अकस्मात् र अनपेक्षित परिवर्तनहरू आरम्भ हुने एउटा बिन्दुमा पुग्छ कि भन्ने पिरलोमा छन्।


















