आबुधावी(सयुक्त अरब इमिरेट्स), १६ कार्तिक । टी २० विश्वकप अन्तरगत मंगलबार भएको खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ६ विकेटले पराजित गरी प्रतियोगिताको पहिलो चरणबाट बाहिर निस्कन बाध्य पारेको छ ।
सुपर १२ चरणको समुह ‘१’ अन्तर्गत लगातार चौंथो हार बेहोर्दै बंगलादेश एक खेल अगावै टी २० विश्वकपको पहिलो चरणबाटै बाहिर भएको हो। बंगलादेश श्रीलंकासंग ५ विकटले, इंग्ल्यान्डसंग ८ विकेटले, वेस्टइन्डिजसंग ३ रनले पराजित भएको थियो।
शेख जायद स्टेडियम अबुधाबीमा बंगलादेशले दिएको ८५ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १३.३ ओभरमा ४ विकेट गुमाएर हासिल गरेको थियो।
दक्षिण अफ्रिकाको ब्याटिंगमा कप्तान तेम्बा बभुमाले सर्वाधिक ३१ रन बनाए भने रस भान डर डुसेनले २२ तथा क्विन्टन डी ककले १६ रन बनाएका थिए।
दक्षिण अफ्रिकालाई रोक्न बंगलादेशका बलर तास्किन एहमदले तथा मेहदी हसन र नसुम एहमदले ले समान एक एक विकेट लिएका थिए ।
यस अघि टस हारेर ब्याटिंग गरेको बंगलादेश १८.२ ओभरमा ८४ रनमै समेटियो।
उसको लागि मेहदी हसनले सर्वाधिक २७, लिटन दासले २४, शमिम होसेनले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बंगलादेशलाई रोक्ने क्रममा दक्षिण अफ्रिकी बलर कागिसो रबाडा र एनरिक् नोर्कियाले समान ३ ।३ विकेट, तब्रेज शाम्सीले २ विकेट तथा ड्वेन प्रिटोरिसले एक विकेट लिएका थिए ।
जितपछि दक्षिण अफ्रिका ४ खेलमा ३ जित र १ हार पछि समुह ‘१’ अंक तालिकाको दोश्रो स्थानमा यथावत छ। ४ जितको साथ इंग्ल्यान्ड ८ अंक सहित पहिलो स्थानमा छ। अष्ट्रेलिया ३ खेलमा ४ अंक सहित तेश्रो स्थानमा छ। दक्षिण अफ्रिकाले सुपर १२ चरणको अन्तिम खेल इंग्ल्यान्ड बिरुद्ध खेल्ने तालिका रहेको छ।


















