Prakash Adhikari November 3, 2021

आबुधावी(संयुक्त अरब इमिरेट्स), १७ कार्तिक । टी २० विश्वकप क्रिकेटको सुपर १२ को चरण अन्तरगत मंगलबार भएको खेलमा नामिबियालाई पराजित गर्दै पाकिस्तान समूह २ बाट सेमिफाइनलमा पुगेको छ ।

शेख जायद स्टेडियम अबुधाबीमा पाकिस्तानले दिएको १ सय ९० रनको लक्ष्य नामिबियाले हासिल गर्न सकेन । २० ओभर ब्याटिंग गरेको नामिबियाले ५ विकेट क्षेतीमा १ सय ४४ रन मात्र जोड्यो र ४५ रनले पराजित भयो।

यो जितसंगै सुपर १२ को पहिलो चरणमा पाकिस्तानले चारै खेल जितेको छ । पाकिस्तानले यस अघि भारत, न्युजिल्यान्ड र अफगानिस्तानलाई पराजित गरेको थियो।

लक्ष्य पछ्याउने क्रममा नामिबियाको लागि डेभिड विजेले अविजित रहँदै सर्वाधिक ४३ रन, क्रेग विलियम्सले सर्वाधिक ४० रन, स्टेफेन बार्डले २९ रन बनाए।
नामिबियालाई रोक्ने क्रममा पाकिस्तान बलर हसन अलि , इमाद वासिम , हरिस रौफ र शदाब खानले समान एक एक विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट क्षतिमा १ सय ८९ रन बनाएको थियो।

पाकिस्तानको ब्याटिंगमा ओपनर मोहमम्द रिजवानले ७९, बाबर आजमले ,७० र मोहम्मद हफिजले अविजित ३२ रन बनाए।

पाकिस्तानलाई रोक्ने क्रममा नामिबियाका बलर डेभिड विजे र जान फ्राईलिंकले समान एक एक विकेट लिए।

चारैवटा खेल जितेपछि पाकिस्तानले सेमीफाइनलमा स्थान पक्का गरेको पाकिस्तान समुह ‘२’ को शीर्ष स्थानमा छ। यस समूहमा अफगानिस्तान ३ खेलमा ४ अंक सहित दोश्रो, न्युजिल्याण्ड र नामिबिया २ अंकसहित तेश्रो र चौंथो स्थानमा यथावत छन्।

दुवै खेलमा पराजित भारत र स्कटल्याण्ड अंकविहिन रहँदै पाँचौ र छैटौं स्थानमा छन्। पाकिस्तानले सुपर १२ चरणको अन्तिम खेल स्कटल्याण्डसंग नोभेम्बर ७ तारिखमा खेल्नेछ भने नामिबियाले नोभेम्बर ५ मा न्युजिल्यान्ड तथा नोभेम्बर ८ मा भारतसंग खेल्ने तालिका रहेको छ।

Share Now

Leave a comment.