तेहरान(इरान), १८ कार्तिक(बीबीसी) । इरान र अन्य छ देशबीच सन् २०१५ मा भएको ऐतिहासिक परमाणु सम्झौतालाई ब्यूँताउने उद्देश्य राखेर गर्न लागिएको वार्ता यसै महिना हुने भएको छ।
इरानका प्रमुख वार्ताकार अली बगेरी कनीले सरकारले आउँदो नोभेम्बर २९ तारिखमा उक्त वार्ताका लागि भियनामा भेट्न सहमति जनाउनुभएको छ ।
इरानमा गत जुन महिनामा कट्टरपन्थी नयाँ राष्ट्रपति निर्वाचित भएयता वार्ताहरू रोकिएका थिए।
अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पका पालामा उक्त सम्झौताबाट अमेरिका पछि हटेको थियो तर वासिङ्टनले भने त्यसयता फेरि सामेल हुनसक्ने बताउँदै आएको छ।
बाइडन प्रशासनले भियनामा हुने वार्ताका लागि अमेरिका उपस्थित हुने जनाएको छ।
उक्त वार्तामा सम्झौताका अन्य हस्ताक्षरकर्ता यूके, चीन, फ्रान्स, जर्मनी र रुस पनि उपस्थित हुनेछन्।
बुधवार आफ्नो ट्वीटरमा प्रमुख वार्ताकार कनीले लेख्नुभएको छ, ूगैरकानुनी र अमानवीय प्रतिबन्धहरू हटाउने उद्देश्य राखिएको वार्ता नोभेम्बर २९ तारिखमा भियनामा हुने सहमति भएको छ।ू
अमेरिकी प्रतिक्रिया
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले यदि इरानका प्रतिनिधिहरू गम्भीर भए सम्झौतामा छिट्टै पुग्न सकिने बताउनुभएको छ।
तर उहाँले वार्ता गत जुनमा भियनामा भएको छ चरणको वार्ता जहाँ पुगेर अड्किएको थियो त्यहीँबाट सुरु हुने अपेक्षा अमेरिकाले गरेको बताउनुभयो।

इरानका राष्ट्रपति इब्राहिम रइसीले वार्तामा कडा अडान राख्ने ठानिएको छ।
सम्झौतामा के थियो ?
पश्चिमा देशहरूले इरानलाई वार्तामा पुनः सहभागी हुन महिनौँदेखि आह्वान गर्दै आएका छन्।
तेहरानको परमाणु हतियारको विस्तार पहिले गरिएको सम्झौताले तय गरेको सीमाभन्दा नाघेको चेतावनी पनि उनीहरूले दिएका छन्।
सन् २०१५ मा भएको सम्झौता अनुसार, इरानले युरेनियम प्रवर्द्धनमा रोक लगाउनेमा सहमति जनाएको थियो।
त्यसका साथै उसले अन्तर्राष्ट्रिय निरीक्षण अनुमतिका लागि पनि सहमति जनाएको थियो।
इरानका राष्ट्रपति इब्राहिम रइसीले वार्तामा कडा अडान राख्ने ठानिएको छ।
त्यसको बदलामा उसमाथि लागेका प्रतिबन्धहरू हटाइएको थियो।
तर पूर्वराष्ट्रपति ट्रम्प सन् २०१८ मा उक्त सम्झौताबाट पछि हट्नुभयो र पुनः प्रतिबन्धहरू लगाउनुभयो।
प्रतिबन्धहरू पुनः लगाइएयता विदेशी बैंकहरूमा रहेको आफ्नो अर्बौँ डलर सम्पत्तिको पहुँच इरानले गुमाएको छ।


















