अबुधाबी(संयुक्त अरब इमिरेट्स), १८ कार्तिक । अफगानिस्तानलाई एकतर्फी खेलमा ६६ रनले पराजित गर्दै भारतले टटी २० विश्वकप २०२१ मा पहिलो जित दर्ता गरेको छ।
सेख जायद स्टेडियम अबुधाबीमा सम्पन्न खेलमा भारतले दिएको २ सय ११ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले २० ओभर ब्याटिंग गर्दै ७ विकट क्षतिमा १ सय ४४ रन मात्र बनाउन सक्यो।
लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानको लागि करिम जनतले ४२ रन, मोहम्मद नाबीले ३५ रन, रहमनुल्लाह गुर्बजले १९, गुल्बदिन नैबले १८, हज्रतुल्लाह जजाईले १३ रन बनाएका थिए।
भारतको बलिंगमा मोहम्मद शामीले सर्वाधिक ३ विकेट लिए भने रभीचन्द्रन आश्विनले २ विकेट तथा जस्प्रित बुम्राह र रभीन्द्र जडेजाले समान एक एक विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको भारतले २० ओभरमा २ विकेट क्षतिमा २ सय १० रन बनाएको थियो।
भारतको लागि रोहित शर्माले ७४ रन बनाए भने केएल राहुलले ६९ रन बनाए। यस्तै हार्दिक पान्ड्याले अविजित ३५ रन बनाए भने रिशभ पन्तले अविजित २७ रन बनाए। कप्तान बिराट कोहली भने ब्याटिंग गर्न उत्रन परेन।
भारतलाई रोक्ने क्रममा अफगानिस्तानको बलिंगमा गुल्बदिन नैब र करीम जनतले समान एक एक विकेट लिए।
अंकतालिका
जितपछि भारत समुह ‘२’ अंकतालिकाको चौंथो स्थानमा उक्लेको छ भने नेट रन रेटमा सुधार गरेको छ। खेल अघि (१.६०९ रहेको भारतको नेट रन रेट अब ं०.८१६ पुगेको छ।
समान २ अंक रहेको नामिबिया नेट रन रेटमा पछि रहँदै पाँचौ तथा जितविहिन स्कटल्याण्ड छैठौं स्थानमा छ। ४ वटै खेलमा जित दर्ता गरेको पाकिस्तान सेमीफाइनल प्रवेश गरिसकेको छ।
अफगानिस्तान ४ खेलमा २ जित र २ हार पछि ४ अंक सहित दोश्रो स्थानमा छ भने ३ खेलमा ४ अंकनै रहेता पनि न्युजिल्यान्ड नेट रन रेटमा पछि रहँदै तेश्रो स्थानमा छ।
भारत सेमीफाइनल पुग्न बाँकी दुवै खेलमा स्कटल्याण्ड र नामिबियालाई ठूलो अन्तर पराजित गर्नुपर्नेछ र त्यसको साथै न्युजिल्यान्डले बाँकी दुई खेल मध्ये एउटामा हार बेहोर्नुपर्नेछ।
त्यसो भए समान ६ अंक रहेता पनि नेट रन रेटमा भारत अघि जान सक्नेछ। न्युजिल्यान्डले बाँकी दुई खेलमा अफगानिस्तान र नामिबियालाई पराजित गरेको खण्डमा भारत र अफगानिस्तानको सेमीफाइनल पुग्ने सम्भावना समाप्त हुनेछ।
अफगानिस्तान सेमीफाइनल पुग्न अन्तिम खेलमा न्युजिल्यान्डलाई पराजित गर्नुपर्नेछ भने भारत र न्युजिल्यान्डको समान ६ अंकनै भएता पनि नेट रन रेटमा पछि हुनुपर्नेछ ।


















