Prakash Adhikari November 8, 2021

काठमाडौं, २२ कार्तिक। उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भारत र बंगलादेश लगायतका छिमेकी देशहरुलाई विद्युत बिक्रीको बाटो खुलेको बताउनुभएको छ ।

न्यूज एजेन्सी नेपालसँग आइतबार कुराकानी गर्दै मन्त्री भुसालले भारतसँग विद्युत व्यापार शुरु भइसकेको र बंगलादेशसँग सकारात्मक ढंगले कुरा अघि बढीरहेको बताउनुभएको हो ।

मन्त्री भुसााले भारतमा विद्युत व्यापारको शुरुवात भइसकेको बताउँदै यस प्रकारको व्यापार दक्षिण एशियाकै पहिलो भएको बताउनुभयो । मन्त्री भुसालले जलविद्युत क्रमशः बढ्दै गएको आन्तरिक खपत बढाउनु पर्ने बताउँदै विद्युत व्यापारले देशकै व्यापार घाटाको अवस्थामा सुधार गर्ने बताउनुभयो ।

‘उर्जा व्यापार पहिलेदेखि नै शुरु भएको हो, तर हामीले बढी हुँदा पनि सप्लाइ गर्न सकेका थिएनौँ, अहिले भारतको सम्बन्धित निकायले हामीसँग विद्युत खरीद गर्ने सहमति गरेर सप्लाइ शुरु भइसकेको छ।’, मन्त्री भुसालले भन्नुभयो, ‘त्यसैले विद्युत व्यापारको शुरुवात भएको भनेर यसलाई मान्न सकिन्छ, यस प्रकारको व्यापार दक्षिण एशियाकै पहिलो हो। भर्खर हामीले भारतमा विद्युत व्यापार शुरु गरेका छौँ, बंगलादेश भारत भएर जाने हो, त्यसैले हामीलाई त्रिपक्षीय सम्झौता हुनुपर्छ, त्यो सम्पन्न हुन पनि सकारात्मक वातावरण बन्दै गएको छ ।’

मन्त्री भुसालले भान्सामा प्रयोग हुने एलपी ग्याँस लगायतका उर्जाहरुलाई विद्युतले विस्थापित गर्न सके देशको व्यापार घाटा कम हुने बताउनुभयो । उहाँले नेपाल कृषिप्रधान देश भएकोले सतह सिँचाइ, ग्राउण्ड वाटर, वा लिफ्ट सिँचाइ गरेर खेतीयोग्य जमिनमा सिँचाइ पुर्‍याइने बताउनुभयो।

मन्त्री भुसालले उद्योगहरुलाई अब चाहिए जति विद्युत दिनसक्ने बताउँदै उर्जा खपत गर्ने उद्योगलाई नयाँ सोचका साथ अघि आउन पनि आग्रह गर्नुभयो। उहाँले आन्तरिक खपतको लागि विद्युत महशुल घटाएको बताउनुभयो ।

‘पहिला आन्तरिक खपतको निम्ति सहज होस् भनेर विद्युतको महशुल नै घटाएँ, अब घर भान्सामा प्रयोग हुने उर्जामा अब जलविद्युत मात्रै हुन सक्छ, एलपी ग्याँस लगायतका उर्जा भन्दा यो सस्तो छ, त्यसैले होल डोमेस्टिक कन्जम्सनमा प्रयोग भएको एलपी ग्याँसलाई विस्थापित गर्नु आवश्यक छ।’ मन्त्री भुसालले भन्नुभयो, ‘सरकारले चार्जिङ लगायतका भौतिक संरचना, छिटो भन्दा छिटो बनाउदा विद्युतको एउटा ठूलो खपत यातायातमा हुनेछ, उद्योगमा हुनेछ, कृषि र सिँचाइमा हुनेछ, आन्तरिक खपतबाट अघि बढ्नेछ, यसले अन्तिममा पेट्रोलियम पदार्थ, एलपी ग्याँस लगायतलाई बिस्थापित गर्छ र व्यापार घाटालाई सकारात्मक ढंगले सन्तुलनमा ल्याउने माध्यम बन्नेछ।’

मन्त्री भुसालले अब सवारी साधन खरीद गर्दा विद्युतीय सवारी साधनलाई प्रोत्साहन दिइने बताउँदै पेट्रोलियम पदार्थ र एलपी ग्याँसलाई बिस्थापित गर्न सके नेपालको व्यापार घाटामा सुधार हुने बताउनुभयो ।

 

Share Now

Leave a comment.